close

हरेक पसलमा ठगिन्छन् उपभोक्ता, सरकार भन्छः गुनासो आउनुपर्‍याे नि !

हरेक पसलमा ठगिन्छन् उपभोक्ता, सरकार भन्छः गुनासो आउनुपर्‍याे नि !

Trulli
ADVERTISEMENT

डडेल्धुरा– डडेल्धुरा सदरमुकामका उपभोक्ताले पसलैपिच्छे दैनिक उपभोग्य सामानमा मूल्यवृद्धि हुँदा समस्यामा परेको गुनासो गरेका छन् । जिल्ला सदरमुकाममा रहेका पसलमा दैनिक खाद्य तथा खुद्रा व्यापारमा मूल्यवृद्धि भएपछि उपभोक्ता मारमा परेका हुन् ।


पसलैपिच्छे उपभोग्य सामानमा मूल्यवृद्धि हुँदा पनि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै उपभोक्ता रुष्ट भएका छन् । ‘दैनिक उपभोग्य सामान किनेर खानुपर्ने हुन्छ । आजभन्दा भोलि सामानको मूल्य बढेको हुन्छ,’ स्थानीय सञ्जु भट्ट भन्छिन् ।


एकातिर कोरोना कहरले गर्दा आर्थिक अवस्था खस्कँदै जानु र अर्काेतिर मनोमानी मूल्यवृद्धिले आजित हुनु परेको भट्टको गुनासो छ । उनी भन्छिन्, ‘हरेक पसलमा व्यापारीले आफूखुसी मूल्य निर्धारण मात्र नभई बजारमा कृत्रिम अभाव देखाएर उपभोक्ताको ढाड सेकिरहेका छन् ।’


बजारमा दैनिक उपभोग्यका सामान दाल, तेल, नुन तथा फलफूलमा समेत अचाक्ली मूल्य बढिरहेको अर्का स्थानीय गीता पुन तामाङले बताइन् । हरेक पसलमा मूल्यसूची कायम नहुँदा दैनिक उपभोग्य सामानमा मूल्यवृद्धि भएको दाबी उनको छ ।


महँगी र आपूर्ति अभावलाई देखाएर व्यापारीले मनोमानी मूल्य लिइरहँदा पनि स्थानीय सरकारले चासो नदेखाएको नागरिक बताउँछन् । ढुवानी मूल्य बढ्दा तथा प्रिन्ट रेट एउटा हुने र खरिद मूल्य अर्को हुनाले पनि दैनिक उपभोग्यका सामानमा मूल्यवृद्धि हुने गरेको व्यापारी सरस्वती भट्टले सुनाइन् ।


स्थानीय सरकार भन्छ : गुनासो आएन


बजार अनुगमनको जिम्मा स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षलाई दिइए पनि मूल्यवृद्धि हुने क्रम नघटेको स्थानीयको गुनासो छ ।


जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिकामा उपभोक्ताले मूल्यवृद्धिसम्बन्धी कुनै पनि गुनासो नगरेको अमरगढी नगर उपप्रमुख संगीता भण्डारी बताउँछिन् ।


‘चाडपर्वको समय बजार अनुगमनलाई निरन्तरता दिएका थियौँ । पछिल्लो समय बजार अनुगमनमा विवाद भएकाले नगरपालिकाको आयोजनामा बजार अनुगमन हुन सकेको छैन,’ उनले भनिन्, हामीले अनुगमन कार्यविधि बनाइसकेका छौँ । अब योजनासहित अगाडि बढ्छौँ ।’


जिल्लास्थित ७ वटै स्थानीय तहमा बजार अनुगमन गरिसकेको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । उनले भने, ‘कहीँ–कतै व्यापारीले मूल्यवृद्धि, कालोबजारी गरेका छन् भने उजुरी दिनुस्, कारबाही हुन्छ ।’