close

धनुषामा विरोधका बीच निर्वाचन आयोगको छलफल

धनुषामा विरोधका बीच निर्वाचन आयोगको छलफल

Trulli
ADVERTISEMENT

धनुषा- सरकारले आउँदो वैशाखमा हुने चुनावका लागि निर्वाचन आयोगलाई तयारीमा जुट्न निर्देशन दिएसँगै अहिले विभिन्न जिल्लामा निर्वाचनको पूर्वतयारी अगाडि बढेको छ ।

 

धनुषास्थित जिल्ला निर्वाचन आयोगको कार्यालयले निर्वाचनका लागि छलफल अगाडि बढाएको छ । आयोगले निर्वाचनको छलफल अगाडि बढाएकै समय जनता समाजवादी पार्टी नेपाल, नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल समूहले विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका छन् । 

 

नेपाली कांग्रेस र जनमत पार्टीले भने चुनावमा सहभागी हुने बताइसकेका छन् । वैशाखमा हुने आगामी निर्वाचनका लागि धनुषामा सुरक्षाबीच जिल्ला निर्वाचन कार्यालयले मंगलबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

 

जिल्ला निर्वाचन कार्यालय धनुषाद्वारा मतदाता नामावली अद्यावधिक दाबी विरोधसमेतका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले अन्तरक्रिया आयोजना गरेको थियो ।

 

आयोगले आयोजना गरेको छलफलमा दलहरूले विरोध जनाएका छन् । आयोगको छलफलमा कांग्रेस र जनमत पार्टीबाहेक कुनै पनि दलले सहभागिता जनाएनन् । 

 

आगामी वैशाखमा हुने निर्वाचनको विरोधमा रहेका जनता समाजवादी पार्टी र नेकपाको प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगको छलफल वहिष्कार गरे ।

 

जनता समाजवादी पार्टी धनुषाका अध्यक्ष पशुपति यादवले कार्यक्रमबारे आफूलाई जानकारी भए पनि निर्वाचनको विरोधमा रहेका कारण सहभागिता नजनाएको जानकारी दिए ।

 

नेकपाको प्रचण्ड-नेपाल समूहका दीपक यादवले भने, ‘हामीले निर्वाचनसम्बन्धी हरेक कार्यक्रमको विरोध गर्नेछौँ । त्यसैले मंगलबारको छलफलमा सहभागी भएनौँ ।’

 

आगामी १७ वैशाखदेखि हुने निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम १५ माघदेखि सुरु गर्दै छ ।

 

२१ माघसम्म स्थानीय स्तरबाट सञ्चालन हुने सो कार्यक्रमका लागि स्थानीय तहबाट सहायक मतदाता अधिकारी खटाएर मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय धनुषाका प्रमुख पुष्पा झाले जानकारी दिइन् ।

 

झाका अनुसार मतदाता नामावलीमा नाम, ठेगाना त्रुटि भएको, दोहोरो नाम भएको, मृत्यु भइसकेको वा बसाइँसराइ भएको सच्याउने कार्य अद्यावधिक कार्यक्रमअन्तर्गत हुनेछन् । 


स्थानीय तहबाट सहायक मतदाता अधिकारीबाट सिफारिस भएर आएकाको त्रुटि आयोगद्वारा सच्याइ अन्तिम नामावली २६ माघ र दोहोरो नामावली सच्याउने काम २ फागुनसम्म प्रकाशन हुने झाले बताइन् ।

 

‘१५ माघमा मतदाता नामावली प्रकाशन, १६ देखि १८ माघसम्म त्रुटि सच्याउने, दोहोरो नामावली, मृत्यु भएका वा नागरिकता त्याग गरेका वा झुटा विवरण पेस गरी मतदाता बनेकोलगायतका प्रमाणसहित निवेदन लिइनेछ’, झाले भनिन् ।


सो निवेदनमाथि छानबिन गरी १९ माघमा आरोपितलाई सफाइको मौका दिइने, २० माघमा विवरण जिल्ला प्रमुख मतदाता अधिकारीसमक्ष स्थानीय तहबाट पेस गरिने र ती सबै निवेदनविरुद्ध जाँचबुझ गरी २६ माघमा अन्तिम नामावली प्रकाशन गरिने उनको भनाइ छ ।

 

आगामी वैशाखमा हुने निर्वाचनका लागि धनुषामा ६ हजार ४ सय ७२ जना मतदाता थपिएका छन् । २०७४ मा जिल्लामा ४ लाख ४ हजार ६ सय ७४ मतदाता रहेकामा अब मतदाता संख्या ४ लाख ११ हजार १ सय ४६ पुगेको छ ।