close

१ महिने आयोडिन अभियान सुरु

प्रदेश र स्थानीय सरकारलाई संघीय मामिलाको परिपत्र

१ महिने आयोडिन अभियान सुरु

प्रदेश र स्थानीय सरकारलाई संघीय मामिलाको परिपत्र

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– आगामी १६ फागुनसम्म मनाइने आयोडिनसम्बन्धी १ महिने कार्यक्रमका लागि आवश्यक सहयोग र समन्वय गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको छ ।


१९ माघबाट आयोडिन महिना सुरु भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनुरोधमा संघीय मामिला मन्त्रालयले आवश्यक सहयोग र समन्वयका लागि ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीय तहलाई परिपत्र गरेको हो ।


मन्त्रालयले सोमबार जारी गरेको परिपत्रअनुसार ७ वटै प्रदेश र ७ सय ५३ वटै स्थानीयमार्फत २ बालबालिकाको चिह्न भएको प्याकेटको आयोडिन नुन खान नागरिकलाई प्रोत्साहित गर्नुपर्नेछ । स्वास्थ्य सेवा विभागले आयोडिनयुक्त नुन मात्र प्रयोग गर्न सर्वसाधारणलाई सूचित गर्ने कार्यक्रममा प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय तथा सहयोग गर्नुपर्ने मन्त्रालयको पत्रमा उल्लेख छ ।


‘नुन थोरै खाऔँ तर सही मात्रामा आयोडिन भएको २ बालबालिकाको चिह्नयुक्त प्याकेटको नुन मात्र खाऔँ’ नारासहित आयोडिनसम्बन्धी १ महिने कार्यक्रम मनाइँदै छ ।


गर्भावस्थादेखि जीवनको हरेक अवस्थामा बाँच्न, स्वस्थ रहन र पूर्ण रूपमा मानसिक तथा शारीरिक विकासका लागि मानिसलाई विभिन्न पोषक तत्त्व आवश्यक पर्छ । यीमध्ये आयोडिन नुनलाई पनि महत्त्वपूर्ण पोषक तत्त्व मानिने गरेको छ ।

 

विज्ञहरूका अनुसार गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको दिमागको ८० प्रतिशत विकास भइसकेको हुन्छ । त्यसैले यस समय शरीरमा आयोडिनको कमी भए मानसिक तथा शारीरिक विकासमा अवरोध आउँछ ।

 

नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिन अभाव छ । त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्र सरल उपाय हो । गर्भवती महिलाले दैनिक रूपमा आयोडिनको सही मात्राको प्रयोगले गर्भको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत गर्ने र आयोडिनको कमीले गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मनेजस्ता समस्याबाट बच्न सकिने विज्ञहरू बताउँछन् ।बाल्यावस्थामा आयोडिनको सही मात्राले बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत गर्ने उनीहरूको तर्क छ ।

 

किशोरावस्थामा आयोडिनको सही मात्राले मानसिक तथा शारीरिक वृद्धि हुनुका साथै पढाइ र अन्य क्रियाकलापमा पनि सकारात्मक असर गर्ने विज्ञहरूको भनाइ छ ।

 

उनीहरूका अनुसार आयोडिनको सही मात्राले शरीरका विभिन्न अंगको विकासमा सहयोग गर्ने हुँदा यसको प्रयोगले गलगाँड तथा हाइपोथाइरोइडिजमजस्ता समस्याबाट मुक्ति मिल्छ ।