close

३५ सय खर्च गरेर कोरोनाको निःशुल्क खोप !

३५ सय खर्च गरेर कोरोनाको निःशुल्क खोप !

Trulli
ADVERTISEMENT

बागलुङ– अमृता पुनले बरेङ गाउँपालिका वडा नम्बर ५ सुखौरामा स्वास्थ्य स्वयंसेविका भएर काम गरिरहेकी छन् । घरायसी काम र बजारका लागि सुखौराबासीलाई सदरमुकाम बागलुङ बजारभन्दा गुल्मीको शान्तिपुर नजिक पर्छ । अपायक पर्ने भए पनि प्रशासनिक कामका लागि बागलुङ बजार नै आउनुपर्छ ।


कोरोना महामारीको समय जनचेतनामूलक सन्देश बोकेर घरघर पुगेकी पुनलाई यतिबेला निकै खुसी लागेको छ । सरकारले पहिलो चरणमै कोरोना भाइरसविरुद्धको खोप लगाउँदा स्वास्थ्य स्वयंसेविका प्राथमिकतामा परे । 

 

पुनले पनि खोप लगाइन् । तर, निःशुल्क खोप लगाउन सदरमुकाम आउँदा उनको ३ हजार ५ सय रुपैयाँ खर्च भयो । ‘खुसी लागेको छ । एक दिन सदरमुकामै बास बसियो,’ पुनले भनिन्, ‘सबै मिलेर गाडी रिजर्भ गर्दा, खाना, बस्ने खर्च ३ हजार ५ सय रुपैयाँ पुग्यो ।’

 

जिल्लाभर एउटा मात्रै खोप केन्द्र तोकिएकाले झन्डै ५० किलोमिटर कच्ची सडकमा गाडी चढेर पुन र उनका साथीहरू सदरमुकाम आए । स्वयंसेवामा खटिने उनीहरू मात्रै होइन, स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सरसफाइ मजदुर पनि खोप लगाउन आउँदा लाग्ने खर्चको मारमा परेका छन् ।

 

‘न्यूनतम तलबमा सम्झौता गराएर करारमा काम गरिएको छ । खोप लगाउनै पैसा सकिएपछि नियमित खर्च चलाउन कठिन छ,’ जैमिनी नगरपालिकाको एक स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी भन्छिन्, ‘कि नजिकको स्वास्थ्य संस्थामा ल्याउनुपथ्र्याे कि यातायात व्यवस्था गर्नुपथ्र्यो ।’


यस्तै, काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाबाहेकका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेविकाका लागि धौलागिरि अस्पताल अपायक पर्छ । दूरीका हिसाबले टाढा रहेको अस्पताल पुग्न सवारी साधनको खर्चले मात्रै सानो परिवारलाई १ महिना खान पुग्छ । 

 

ढोरपाटन नगरपालिकाको बोबाङ, निसीखोला गाउँपालिकाको भल्कोट र तमानखोला गाउँपालिकाको नर्जाखानीजस्ता ठाउँबाट खोप लगाउन आएर फर्किंदासम्म ५ हजार रुपैयाँ बढी धेरै खर्च हुने स्वास्थ्यकर्मीहरू बताउँछन् ।  


‘हामीले बुर्तिबाङ, गलकोट र कुस्मीशेरा प्राथमिक स्वास्थ्य केन्द्रलाई पनि खोप केन्द्र बनाउन सक्थ्यौँ तर सम्भावित जोखिम कसरी सामना गर्ने भन्ने पूर्वतयारी नभएका कारण खोप केन्द्र विकेन्द्रित गर्न सकिएन,’ गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय, अस्पताल विकास महाशाखा प्रमुख डा. रामबहादुर केसीले भने, ‘निःशुल्क खोप लगाउन करोडौं खर्च हुने देखियो । खोप लगाउनेहरूको व्यक्तिगत खर्च पनि राज्यकै हो भन्ठान्नुपर्छ ।’

 
खोप अभियान चलिरहेकै समय खोप लगाउन आउनेहरूबाटै गुनासा आउन थालेका छन् । जिल्लाभर रहेको कच्ची सडकमा नियमित सवारी नचल्ने र भाडाका सवारीलाई रिजर्भ गरेर हिँडाउनुपर्दा थप व्ययभार पर्ने गरेको उनीहरूको गुनासो छ ।


‘भूगोलको आधारमा हामीले सोच्नैपर्ने बेला आएको छ । दोस्रो चरणको खोप लगाउन सदरमुकाम आउनुपर्ने बाध्यता अन्त्य हुनुपर्छ,’ केसीले भने, ‘जिल्लास्थित जिम्मेवारी पाएको खोप व्यवस्थापन समितिले यसमा पहल गर्नुपर्छ ।’


खोपको व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन भएको जिल्ला खोप व्यवस्थापन समितिले भने सरकारले नै अस्पताललाई मात्रै खोप केन्द्र बनाउने भनेकाले त्यसो गरिएको जनाएको छ ।

 

‘सम्भावित अवान्छित घटनाका लागि एम्बुलेन्स, आईसीयु र डाक्टर चाहिने भएकाले सबै ठाउँमा खोप केन्द्र बनाउन सकिएन,’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने, ‘हामीले सक्दो प्रयास गरेका हौँ ।’ 


सोमबार बसेको जिल्ला खोप व्यवस्थापन समिति बैठकले पश्चिमका ४ स्थानीय तहका लागि ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा खोप केन्द्र सञ्चालन गर्न दिने निर्णय गरेको छ । समितिको निर्णयअनुसार २० देखि २४ माघसम्म बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट कोभिडको खोप दिइने छ ।

 

‘सबै पालिकामा पुग्न सम्भव भएन,’ न्यौपानेले भने, ‘बुर्तिवाङ सबैका लागि पायक पर्ने ठाउँ भएकाले धेरै सहज हुनेछ ।’ यसअघि जिल्लाभर धौलागिरि अस्पताललाई मात्रै खोप केन्द्र तोकिएको थियो ।