close

आन्तरिक विवादले प्रदेश १ को प्रदेशसभा बैठक अन्योलमा, नेकपाका दुवै खेमा भएनन् टसमस

आन्तरिक विवादले प्रदेश १ को प्रदेशसभा बैठक अन्योलमा, नेकपाका दुवै खेमा भएनन् टसमस

Trulli
ADVERTISEMENT

मोरङ– प्रदेश १ को प्रदेशसभाको आज बस्ने भनिएको बैठक तोकिएको समयमा सुरु हुन सकेको छैन । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक कार्यव्यवस्था समितिको बैठक बिना निष्कर्ष सकिएको छ ।
 

बैठकमा कार्यसूची के राख्ने भन्ने विषयमा सहमति हुन नसकेको हो । सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुन नसक्ने र संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री राईले निलम्बन गरेका १६ जना सांसद प्रदेशसभामा सहभागी हुन नपाउने अडान राखेपछि बैठक निष्कर्षमा पुग्न सकेन ।

 

कार्य व्यवस्था परार्मश समितिको बैठक जारी रहँदा नेकपाका ओली र प्रचण्ड–माधव पक्षीय नेताहरुका बीचमा पनि कसरी अघि बढ्ने भन्ने छलफल भएको थियो । तर बैठकमा सहमति जुटेन ।

 

आन्तरिक छलफल पनि मिलेन

 

ओली खेमाका नेताहरुले आइतबार निर्धारित बैठक सूचना टाँसेर स्थगित गर्ने र छलफल अगाडि बढाउने प्रस्ताव राखेका थिए । तर, प्रचण्ड–माधव समूहका नेताहरुले कम्तीमा आइतबार बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गरिनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको बैठक पछि नेता इन्द्र आङ्वोले बताए ।


‘आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गरौं भन्ने प्रस्तावमा हाम्रो अडान रहयो, उहाँहरु मान्नुभएन,’ उनले भने । दुवै खेमा अडानमा कायमै रहेपछि वार्ता बिना निष्कर्ष सकिएको छ । वार्तामा ओली समूहबाट आन्तरिक मामला मन्त्री रहेका हिक्मत कार्की र बिमल कार्की सहभागी थिए भने प्रचण्ड–माधव समूहबाट आङ्वो राजेन्द्र राई, र लक्ष्मण तिवारी सहभागी थिए ।

 

२ बजेका लागि बोलाइएको संसद वैठकका लागि प्रदेशसभा सदस्यहरु संसद भवन आइसकेका छन् । प्रचण्ड–माधव खेमाका सांसद बलबहादुर साम्सोहाङले बैठकका लागि आएर एकैठाउँ जम्मा भएर बसेपनि बैठक सुरु हुन नसकेको बताए । ‘हाम्रो समूह बाहेक अर्को समूहका साथीहरु देखेको छैन,’ उनले भने ।


यसअघि प्रदेशसभा बैठकको अर्को मिति तय गर्ने विषयमा सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री राईबीच छलफल गरेर अगाडि बढ्ने सहमति भएपछि प्रदेश प्रमुखको  संसद अधिवेशन आव्हान सम्बन्धी पठाएको पत्र पढेर बैठक स्थगित भएको थियो ।