close

स्वास्थ्य स्वयंसेविकामार्फत क्षयरोगी खोज्दै मायादेवी 

स्वास्थ्य स्वयंसेविकामार्फत क्षयरोगी खोज्दै मायादेवी 

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको मायादेवी गाउँपालिकाले समाजमा लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउने अभियान सुरु गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले प्रत्येक वडामा क्षयरोगबारे जनचेतना फैलाउँदै रोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने कार्यक्रम सुरु गरेको स्वास्थ्य शाखा प्रमुख भाष्कर आत्रेयले बताए ।

 

‘गाउँघरमा यो रोग पालेर बसेका, रोग लागेर पनि समाजको डरले बाहिर आउन नसकेकाहरूको पहिचान गरी उपचारमा ल्याएर क्षय रोग न्यूनीकरण अभियान सुरु गरेका हौँ’, आत्रेयले भने ।

 

स्वास्थ्य शाखाले यो अभियानको प्रथम चरणमा गाउँपालिका वडा नम्बर २, ३ र ४ का महिला स्वास्थ्य स्वयंसेविकालाई कम्हरिया स्वास्थ्य चौकीमा तालिम दिएको छ । उनीहरूलाई जोखिमयुक्त जनसंख्यामा क्षयरोगी कसरी पत्ता लगाउने र पहिचान कसरी गर्ने भन्ने विषयमा अभिमुखीकरण गरिएको छ ।

 

‘स्वयंसेविकालाई क्षयरोगका लक्षण, रोग लागेपछि अवस्थालगायत विषयमा प्रशिक्षण दिएका हौँ । अब उनीहरू वडाका प्रत्येक घरघरमा गई क्षयरोगका लक्षण भएका व्यक्तिलाई भेटेरे खकार संकलन गरी ल्याउँछन् र परीक्षण हुन्छ’, आत्रेयले भने । 


पहिलो दिन वडा नम्बर २, ३ र ४ का ३२ जना स्वयंसेविकालाई स्वास्थ्य शाखा प्रमुख आत्रेय, स्वास्थ्य शाखा नर्सिङ निरीक्षक शर्मिला शर्मा, कम्हरिया स्वास्थ्य चौकीका प्रमुख प्रभुनाथ चौधरी, हेल्थ असिस्टेन्ट सुरेश चौधरीले क्षयरोगको जानकारी, सर्ने अवस्था, उपचारविधिलगायत विषयमा प्रशिक्षण दिएका थिए ।


प्रशिक्षण लिएका स्वयंसेविकाले बुधबारदेखि वडा नम्बर २, ३ र ४ का सबै घरघरमा गई सम्भावित बिरामीको खकार संकलन गरी प्रत्येक वडाको स्वास्थ्य चौकीमा बुझाउनेछन् । यो कार्यक्रम गाउँपालिकाका सबै वडामा सुरु हुनेछ । गाउँपालिकामा हालसम्म १६ जना क्षयरोगका बिरामी रहेकामा उनीहरूको उपचार भइरहेको छ ।


गाउँपालिका अध्यक्ष धु्रवनारायण चौधरीले समाजमा चेतनाको कमीका कारण आफ्नो समस्या लुकाएर राख्ने प्रवृत्तिकाले क्षयरोगी पहिचानमा समस्या परेको बताए । ‘रोग लागे उपचार गराउनुभन्दा लुकाउने परिपाटी अन्त्य गर्न वडा स्वयंसेविका परिचालन गरेका हौँ । स्वयंसेविकाले घरघरमा गएर उनीहरूको अवस्थाबारे जानकारी ल्याउनेछन्’, अध्यक्ष चौधरीले भने ।