close

चन्दननाथका सबै वडामा स्वास्थ्य सेवाको पहुँच

चन्दननाथका सबै वडामा स्वास्थ्य सेवाको पहुँच

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको चन्दननाथ नगरपालिकाका सबै वडामा स्वास्थ्य संस्थाको पहुँच पुगेको छ । ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पनि चन्दननाथ नगरपालिकाभित्रै छ । 

 

नागरिकको स्वास्थ्यलाई ध्यानमा राखी नगरपालिकाले १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउन सफल भएको छ । स्थानीय सरकार सञ्चालन भएको साढे ३ वर्षमै १० वटै वडामा आधारभूत स्वास्थ्य सेवाको पहुँच पुगेको हो । 


स्वास्थ्य अधिकार सुनिश्चित गर्ने, गाउँगाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने अभियानकै क्रममा बुधबार नगरका ४ वटा वडामा एकैसाथ आधारभूत स्वास्थ्य सेवा केन्द्र उद्घाटन गरियो । नगरप्रमुख कान्तिका सेजुवालले २, ३, ६ र ९ नम्बर वडामा एकैसाथ आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गरेकी हुन् । 


नगरपालिकाभित्रका वडा नम्बर ७, ८ र १० वडामा संघीय संरचनाअघि नै स्वास्थ्य चौकी स्थापना भएका छन् भने ४ नम्बर वडामा सहरी स्वास्थ्य क्लिनिक सञ्चालनमा छ ।

 

नगरपालिकाको वडा नम्बर १ मा स्वास्थ्य केन्द्र उद्घाटन गर्न बाँकी छ । चन्दननाथ कर्णालीकै पहिलो आधारभूत स्वास्थ्य सेवायुक्त नगरसमेत बनेको नगरप्रमुख सेजुवालले बताइन् । 


उनले भनिन्, ‘आधारभूत स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार हो । त्यसबाट कोही वञ्चित नहुन् भन्ने लक्ष्य राखिएको छ । गाउँमा गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांग व्यक्तिको राहतका लागि घरदैलोमै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका हौँ ।’


सामान्य बिरामी हुँदा मेडिकल र अस्पतालमा औषधी किन्नुपर्ने बाध्यता आधारभूत स्वास्थ्य केन्द्र स्थापनापछि हटेको उनले दाबी गरिन् ।


अहिले ५ वटै स्वास्थ्य केन्द्र भाडाको घरमा सञ्चालन गरिएका छन् । चालू आर्थिक वर्ष अन्त्यसम्म आफ्नै भवनबाट सेवा दिने गरी काम अघि बढिरहेको नगरप्रमुख सेजुवालको भनाइ छ । ५ नम्बर वडाबाहेक नगरका सबै वडामा स्वास्थ्य सेवाको पहुँच पुगेको छ । 


चन्दननाथका प्रमुख प्रशासकीय अधिकृत तीर्थराज पौडेल संघीयता कार्यान्वयनमा आएसँगै नागरिकलाई हरेक सेवा गाउमै पु¥याउने लक्ष्यअनुसार घरदैलोमै आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन गरिएको बताउँछन् ।


उनले भने, ‘सरकारले प्रत्येक स्थानीय तहमा १५ शय्याको अस्पताल र हरेक वडामा आधारभूत स्वास्थ्य संस्था पु¥याउने लक्ष्य राखेको छ । साथै, मातृशिशु मृत्युदर घटाउने, ठूलो समस्याबाहेक अन्य बिरामीको औषधी पाइने गरी स्वास्थ्य केन्द्र सञ्चालन गरिएको हो ।’


चन्दननाथका ४ हजार २ सय ७१ घरधुरीका २० हजार ८ सय ८४ जना नागरिक आधारभूत स्वास्थ्य सेवाको पुहँचमा पुगेका छन् । नगरपालिकाले ५ वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र, ४ वडामा स्वास्थ्य चौकी, १ वडामा सहरी स्वास्थ्य क्लिनिक र ५ नम्बर वडामा प्रतिष्ठान गरेर १० वटै वडाका ४ हजार २ सय घरधुरीका २० हजार ८ सय बढी नागरिक प्रत्यक्ष रूपमा स्वास्थ्य सेवाको पहुँचमा पुगेका हुन् ।


गाउँ-गाउँमा सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट विभिन्न ६४ प्ररकारका औषधी निःशुल्क वितरण गरिँदै आएको नगरपालिकाकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले जानकारी दिए । चालू आर्थिक बर्षमा नगरपालिकामा ५ वटा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनका लागि ७० लाख रुपैयाँ बजेट विनियोजन भएको उनले बताए ।