close

गौरवका आयोजनामा ढिलासुस्तीको कारण केन्द्रसँग मागियो

गौरवका आयोजनामा ढिलासुस्तीको कारण केन्द्रसँग मागियो

Trulli
ADVERTISEMENT

बागलुङ- राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको ढिलासुस्तीले जिल्लाको समग्र विकासमा असर गरिरहेको भन्दै बागलुङको चौथो जिल्लासभाले सम्बन्धित निकायको ध्याकर्षण गराएको छ । 


जिल्ला समन्वय समिति र १० स्थानीय तहले आयोजनामा भएको ढिलासुस्ती, गुणस्तरीयता र मापदण्डका विषयमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका हुन् । 


बागलुङमा मध्यपहाडी लोकमार्ग, कालीगण्डकी करिडोर र सालझन्डी ढोरपाटन सडक खण्ड तथा उत्तरगंगा जलाशययुक्त आयोजना राष्ट्रिय गौरवको रूपमा सञ्चालनमा छन् । 


शुक्रबार चौथो जिल्ला सभाबाट १९ बुँदे समन्वयात्मक प्रस्ताव पारित गर्दै जिल्लासभाले सामाजिक, आर्थिक विकास र सुशासन कायम गर्न सबै तहको समन्वय र सहकार्यमा जोड दिएको छ ।


जिल्लासभाले मध्यपहाडी राजमार्गको कालोपत्रेमा भइरहेको ढिलाइ, कालीगण्डकी करिडोरको वातावरणीय परीक्षणलगायत कालोपत्रेको प्रक्रियामा भएको ढिलाइ, ढोरपाटन–सालझन्डी सडक निर्माणमा ढिलाइबारे सम्बन्धित आयोजना र संघीय सरकारलाई ध्यानाकर्षणका लागि अनुरोध गरेको छ । 


उत्तरगंगा जलाशययुक्त आयोजना अन्यत्र जान नहुने भन्दै बागलुङतर्फ नै आयोजना सञ्चालन हुने गरी सबै खाले समन्वयको काम गर्ने गरी नेपाल सरकारलाई अनुरोध गरेको छ ।


पक्की घर बनाउँदा नक्सापास सबै पालिकामा अनिवार्य गराउन पहल गर्ने, सबै पालिका मुकाममा पुग्ने सडक नियमित गराउन अन्तरपालिका समन्वय गर्ने, सवारी भाडादर र रुट परमिटलगायत कामका लागि सम्बन्धित कार्यालयलाई जानकारी गराएर एकरूपता कायम गर्ने घोषणापत्रमा उल्लेख छ ।


बजार अनुगमन, पालिका मुकामको विवाद, भवन तथा पूर्वाधार निर्माणमा रहेका समस्या समाधान गर्ने साझा प्रस्ताव जिल्लासभाले पारित गरेको छ । 

 

झोले व्यापारीका कारण चोरी डकैतीजस्ता घटना बढेकोतर्फ जिल्लासभाको ध्यान पुगेको छ । व्यापारको नाममा झोलामा सामान बोकेर सहरबजार र गाउँघर पस्नेहरूका कारण सामाजिक विचलन आएको भन्दै त्यस्ता कार्यलाई निरुत्साहित गर्ने घोषणापत्रमा उल्लेख छ । 


जिल्लामा हुने विकास निमाणको गुणस्तर कायम गर्न प्रयोगशाला स्थापना गर्ने, ढंगा, गिट्टी, बालुवा उत्खननमा हुने अनियमितता कम गर्न पहल गर्ने, बाढीपहिरो तथा विपद्का समयमा एकआपसमा सहकार्य गर्ने तथा अहिलेका पीडितको पुनस्र्थापनामा पहल गर्ने, विद्यालयको दरबन्दी मिलानको काम जतिसक्दो छिटो सक्ने र स्लेट ढुंगालाई खानीअन्र्तगत उत्पादन तथा बिक्री वितरण गर्नुको साटो ढुंगा, गिटी, बालुवाजस्तै निर्माणजन्य उद्योगको रूपमा समावेश गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने प्रस्ताव पारित भएको छ । 

 

जिल्लासभाले कोरोना महामारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणलगायत विषय समावेश गरेर साझा प्रस्ताव पारित गरेको हो ।

 
सभालाई सम्बोधन गर्दै समन्वय प्रमुख राजेन्द्र ढुंगानाले जिल्लाका सबै तहले एकआपसमा विकासका साझा योजना बनाएर अघि बढ्दा सहज हुने बताए । एउटा पालिकाको राम्रो काम र कदमलाई अर्को पालिकाले तत्काल अनुशरण गर्दा कार्यान्वयन र प्रभावकारितामा सकारात्मक असर पर्ने उनको भनाइ थियो ।


जिल्लासभा प्रमुख ढुंगानाको सभापतित्व, उपप्रमुख विष्णु भुसालको स्वागत र शाखा अधिकृत खिमबहादुर विकको सञ्चालनमा सम्पन्न भएको थियो । समन्वय अधिकारी राजुप्रसाद पौडेलले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।