close

परीक्षा नहुँदाको दुःखः लाइसेन्सबिनै हुइँकिन्छन् सवारीसाधन

परीक्षा नहुँदाको दुःखः लाइसेन्सबिनै हुइँकिन्छन् सवारीसाधन

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर ३ का तिल बुढा अटोरिक्सा चालक हुन् । यसअघि उनी रोजगारीका लागि भारत गएका थिए । भारतमा कोरोना संक्रमण फैलिएसँगै पाएको रोजगारी गुमेपछि जन्मभूमि फर्केका हुन् । 


जुम्ला घर आउँदा उनलाई रोजगारीको समस्या भयो । भारतबाट आएको १/२ महिना उनले कामै पाएनन् । काम नपाएरपछि परिवार पालनपोषणमा समस्या भयो ।

 

यसरी नै बस्न नसकिने अवस्थामा भएपछि कर्णाली राजमार्गको जुम्ला सडक खण्डमा अटोरिक्सा चलाएर स्वरोजगार बन्ने योजना बनाए । 

 

उनले बनाएको योजनाअनुसार ऋण सापटी गरी ६ लाख रुपैयाँ बजेटमा अटोरिक्सा खरिद गरे । खरिद गरेको अटोरिक्सा सडकमा बिनालाइसेन्स हुइँक्याउन थाले । 

 

तर, उनीसँग सवारी सञ्चालन गर्ने अनुमतिपत्र लाइसेन्स भने थिएन । लाइसेन्स नभएपछि सधैँ ट्राफिक कारबाहीमा पर्न थालेको बताउने बुढा भन्छन्, ‘सवारी साधन चलाउने लाइसेन्स नहुँदा समस्या हुने गरेको छ । प्रहरीले गर्ने कहिलेकाहीँको चेकिङका कारण हैरानी खेप्नुपर्छ ।’

 
सोही गाउँपालिकाको वडा नम्बर २ का कृष्ण बुढा पनि यस्तै समस्या छन् । उनले भने, ‘जुम्लामा यातायात व्यवस्था सेवा कार्यालय छ । यहाँ ट्रायल सेन्टर पनि छ । तर, लामो समयसम्म लाइसेन्स नखुल्दा समस्यामा परेका छौँ । लाइसेन्स नखुल्दा सडकमा अटो चलाउँदा कारबाहीमा पर्ने गरेका छौँ ।’ 

 

२०७५ देखि लाइसेन्स वितरण बन्द गरेको यातायात व्यवस्था सेवा कार्यालयले अहिलेसम्म खुलाउन सकेको छैन । कर्णाली राजमार्ग सञ्चालनपछि जुम्लामा २०७२ मा कर्णाली यातायात व्यवस्था कार्यालय स्थापना भएको थियो । जुम्लामा ७०/८० जति अटोरिक्सा कर्णाली राजमार्गको जुम्ला सडक खण्डमा सञ्चालित छन् ।

 

यहाँ सदरमुकाम खलंगामा मोटरसाइकल बिक्री वितरण केन्द्रका सोरुमसमेत छन् । दैनिक ८/१० मोटरसाइकल बिक्री हुने गरेका छन् । सवारी साधन निरन्तर बिक्री वितरण गर्ने गरे पनि यहाँ लामो समयदेखि लाइसेन्स नखुल्दा धेरैजसोले बिनालाइसेन्स सवारीसाधन चलाउने गरिएको पाइन्छ । 


कर्णाली राजमार्गमा सवारी साधनको चाप बढेपछि तत्कालीन कर्णाली अञ्चलका जुम्ला, मुगु, कालीकोट, डोल्पालगायत जिल्लालाई सेवा प्रवाह गर्ने गरी जुम्लामा कार्यालय स्थापना गरिएको थियो । 


कार्यालय स्थापनाछि ट्रायल सेन्टरका लागि चन्दननाथ नगरपालिका वडा नम्बर ७ खलाचौरमा स्थानीय कालीबहादुर खत्रीको जग्गा १० वर्षका लागि कार्यालयले लिजमा समेत लिएको थियो ।

 

जग्गाधनीसँग मासिक ९ हजार रुपैयाँ भाडा दिने गरी २०७२ मा उक्त सम्झौता भएको हो । अघिल्लो केही वर्ष जुम्लाबाटै मोटरसाइकल, स्कुटर तथा चारपांग्रे सवारी साधनको लाइसेन्स वितरण गरे पनि हाल लाइसेन्स वितरण बन्द रहेकोे कार्यालय प्रमुख निरविक्रम शाहीले बताए । 

 

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही जुम्ला आएका बेला कार्यालय प्रमुखसँगको बैठकमा लाइसेन्स खुलाउने आश्वासन दिएका थिए । 

 

अहिले मुख्य सचिव नभएको कारण रोकिएको भन्ने बुझिएको छ । केही समयमा सुर्खेतस्थित यातायात व्यवस्था कार्यालय गएर मुख्यमन्त्रीको कार्यालयसँग समन्वय गरेर लाइसेन्स खुलाउने प्रयास गरिने उनको भनाइ छ ।

 

‘अहिले ट्रायल सेन्टर पनि प्रयोगविहीन छ’, उनले भने, ‘भाडा भने कार्यालयले नै तिरिरहेको छ ।’ आवश्यक कर्मचारी पनि छन् । प्रदेश कार्यालयले अनुमति नदिँदा सवारी साधनको लाइसेन्स नखुलेकोे शाहीले बताए । 


सुर्खेतले खोस्यो लाइसेन्स वितरण कार्य

 

संघीयतापछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट भने समाधम सवारी चालक अनुमतिपत्र वितरण भइरहेको छ ।

 

अघिल्लो वर्षको ६ माघमा प्रदेशको सुर्खेतस्थित कार्यालयबाटै लाइसेन्स वितरण गरिएको हो । तर, माथिल्लो कर्णालीका विशेषगरी जुम्ला, मुगु, कालीकोटको सेवा-सुविधा सुर्खेतले खोसेको भन्ने बुझेका छन् । 


चन्दननाथ नगरपालिका वडा नम्बर ६ जुम्लाका अनुप थापाले भने यहाँको सेवा-सुविधा खोसेर प्रदेश केन्द्रित बनाइएको दाबी गरे । ‘यहाँ कार्यालय छ, ट्रायल सेन्टर पनि छ । लाइसेन्स नखुल्नुको कारण के हो ? लामो समयदेखि नखुल्दा यहाँ सञ्चालन हुने सवारी साधन बिनालाइसेन्स चलिरहेका छन्’, उनले भने ।

 

अख्तियारको निगरानीमा कार्यालय

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्णाली यातायात व्यवस्था कार्यालयलाई उच्च निगरानीमा राखेको बताएको छ । अघिल्ला वर्षमा जथाभावी लाइसेन्स वितरण भएको भन्दै अख्तियारले निगरानीमा राखेको बताएको हो ।

 

जुम्लामा मापसे गरेर सवारी चलाउने चालकको संख्या बढ्दै छ । रातीको समय मापसे गर्ने ओभर स्पिड गाडी कुदाउने गरेकै कारण दुर्घटनाको जोखिम बढेको छ । तर, जुम्लामा भने, मापसे जाँच गर्ने उपकरण नभएको पाइएको छ ।


ट्राफिक कार्यालयका प्रहरी हवल्दार कुशराज शाहीका अनुसार मापसे गर्ने (बे्रथ लाइजर) उपकरण जुम्लामा छैन । चालकको लापरबाही बढेपछि अहिले ३ वटा उपकरण माग गरिएको उनको भनाइ छ । 


ट्राफिक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म १४ वटा सवारी दुर्घटना भएका छन् । चालककै लापरबाहीका कारण बढी सवारीसाधन दुर्घटनाग्रस्त भएको हवल्दार शाहीले बताए । उनका अनुसार १४ वटा दुर्घटनामा परी २७ जना घाइते र २ जनाको मृत्यु भएको छ ।