close

ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिने 

ताप्लेजुङका सबै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र विवरण संकलन गरिने 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- फागुन अन्तिम सातादेखि ताप्लेजुङका सबै स्थानीय तहबाट राष्ट्रिय परियचपत्रको विवरण संकलन गरिने भएको छ । हालसम्म सदरमुकामबाट मात्र संकलन गरिएकामा अब सम्पूर्ण स्थानीय तहबाटै विवरण संकलन गरिने भएको हो ।

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यहाँका सबै स्थानीय तहका प्रमुख तथा प्रशासकीय अधिकृसँग सामूहिक छलफल गर्दै विवरण संकलन कार्यमा सहयोग मागेको हो । 

 

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक जीतेन्द्र बस्नेतले राष्ट्रिय परिचयपत्रमा व्यक्तिको विस्तृत विवरण हुने भएकाले कोही पनि नछुट्न आग्रह गरेका छन् । ‘राष्ट्रिय परिचयपत्र नागरिकता, मतदाता नामावली र अन्य राष्ट्रिय महत्वका तथ्याङ्क तथा जानकारी समेत भएको एउटा पूर्ण पत्र हो’, उनले भने, ‘त्यसैले परिचयपत्रको विवरण संकलन कार्यमा कोही पनि छुट्नु हुन्न ।’

 

सरकारले राष्ट्रिय परिचयपत्रलाई नेपाली नागरिकको पूर्ण जानकारी सहितको विवरणको रूपमा हेरेकाले स्थानीय तहका जनप्रतिनिधिले आम नागरिकलाई यसको महत्व बुझाउनुपर्ने बस्नेतले बताए । 

 

विभागका निर्देशक विष्णुहरि उपाध्यायका अनुसार सरकारी तथा निजी क्षेत्रबाट प्रदान गरिने सबै प्रकारका सेवामा राष्ट्रिय परिचय नम्बर अनिवार्य गर्न लागिएको छ । 

 

उनले १ करोड नागरिकको विवरण संकलन गर्ने लक्ष्य लिइएकामा कोरोना महामारीका कारण करिब ८० लाखको मात्र हालसम्म विवरण संकलन गरिएको जानकारी दिए ।

 

ताप्लेजुङमा गत १३ साउनबाट जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रिय परिचयपत्रको विवरण संकलन कार्य भइरहेको छ । प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँका अनुसार हालसम्म जिल्लामा २ हजार ३६२ जनाको विवरण संकलन गरिएको छ । जसमध्ये १ हजार ३५२ पुरुष र १ हजार १० महिला रहेका छन् ।