close

चिकेन विंग्स खाँदा स्थानीय बिरामी : मासु पसल अनुगमनमा निस्कियो नगरपालिका

चिकेन विंग्स खाँदा स्थानीय बिरामी : मासु पसल अनुगमनमा निस्कियो नगरपालिका

Trulli
ADVERTISEMENT

भक्तपुर- चिकेन विंग्स खाएर स्थानीय बिरामी परेपछि भक्तपुर नगरपालिकाले मासु पसलको अनुगमन सुरु गरेको छ । नगरपालिकाले स्थानीयको गुनासाका आधारमा भक्तपुरको च्याम्हासिंहका ३ वटा मासु पसलको अनुगमन गरेको हो ।

 

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराले एसएसबी मिट प्रोडक्टले काठमाडौं खसिबुको खरिद बिल प्यान र भ्याट बिल प्रयोग नगरी स्टिमेट बिल प्रयोग गरी कर छली गरेको जानकारी दिए । 


गोराका अनुसार भोजमा उक्त कम्पनीको ‘चिकेन विंग्स’ खाएर धेरै जना बिरामी भएकाले सम्बन्धित कम्पनी र बिक्रेता भक्तपुर चिकेन हाउसलाई उपस्थित हुन निर्देशन दिनुका साथै पसलको १ थान तराजु जफत गरिएको छ ।


अनुगमनका क्रममा धेरै पसलमा मासुको मूल्य फरक–फरक देखिएकाले उपभोक्ता ठगेको आधारमा तराजु जफत गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए । 


अनुगमनमा भक्तपुर चिकेन हाउसलाई दर्ता नवीकरण गर्न, प्याकेजिङ बिग्रेका सामान बिक्री-वितरण नगर्न, फ्रिजको सरसफाइमा ध्यान दिन, खरिद र बिक्री गर्दा प्यान र भ्याट बिल मात्र प्रयोग गर्न निर्देश गरिएको छ ।


भक्तपुर चिकेन हाउस, न्यु चिकेन कोल्ड स्टोर पसल, जयश्री ब्रह्मायणी कोल्ड स्टोरमा अनुगमन गरिएको थियो । मासु पसललाई नवीकरण गर्न, एप्रोन सेट प्रयोग गर्न, पसल व्यवस्थित र सरसफाइमा ध्यान दिन, मासु राखेको डिपफ्रिजमा दूध नराख्न र दूध, मासु सँगै राखेर नबेच्न निर्देशन दिइएको छ ।