close

पुष्पलाल र सिक्किमे सडकले गुलजार च्याङ्थापु 

पुष्पलाल र सिक्किमे सडकले गुलजार च्याङ्थापु 

Trulli
ADVERTISEMENT

पाँचथर– अग्लो पहाडको काखमा रहेको च्याङ्थापु पाँचथरको पुरानो बजार हो । राणकालीन समय वा प्रजातान्त्रिक आन्दोलनमा पूर्वी पहाडको नाम लिँदा च्याङ्थापु छुट्ने गरेको छैन । पाँचथरको उत्तरी याङबरक गाउँपालिकाको वडा नम्बर १ मा पर्ने च्याङ्थापु बजारको काया द्रुत गतिमा बदलिँदै गएको छ । 


विभिन्न गाउँबाट यहाँ आएर जग्गा किन्ने, व्यापार व्यवसाय गर्नेहरू बढ्न थालेका छन् । च्याङ्थापु बजारमा सुविधा थपिँदै जाने अपेक्षा यहाँका बासिन्दाको छ । बसाइँसराइको असर परेको यो ठाउँमा पर्याप्त सुविधा थपिन सके गुलजार बन्दै जाने स्थानीय सुनाउँछन् ।


यो वर्ष मात्र बजारमा ७ वटा पक्की घर बन्दै छन् । यसले संकेत गर्छ, च्याङ्थापुमा केही परिवर्तन हुँदै छ । याङबरक वडा नम्बर १ को केन्द्र रहेको च्याङ्थापु बजारमा वडा कार्यालसँगै सीमा प्रशासन कार्यालय, स्वास्थ्य चौकी, पशु सेवा केन्द्र, प्रहरी चौकी, विद्यालयलगायतका सरकारी कार्यालय छन् ।


छिमेकी ताप्लेजुङबासी पनि विभिन्न कामका लागि यो बजारमा ठोकिन्छन् । सडकले सदरमुकामलगायत सहरसँगको दूरी छोट्टिँदै गएपछि थप सहज भएको छ ।


राष्ट्रिय गौरवको पुष्पलाल (मध्यपहाडी) लोकमार्गले यो ठाउँको विकासको स्वरूप परिवर्तन गरिदिएको छ । जिल्लाको उत्तरी ग्रामीण क्षेत्रमा पर्ने च्याङ्थापुमा दशकअघि सडक पुगेको थियो ।


यो पूर्वदेखि पश्चिम जोड्ने राजमार्गको सुरुआती खण्ड पनि हो । सुरुआती खण्डको सडक कालोपत्रेको ठेक्का लागेसँगै सुविधा थपिने आशमा यहाँका बासिन्दा छन् ।


यस क्षेत्रको सडक कालोपत्रे मात्र गरिएको छैन, नजिकैको भारतसँग सीमा जोडिएको चिवाभञ्ज्याङसम्म भारतको सिक्किम सरकारले सडक ल्याएपछि खुसी थपिएको हो । 


अब नाका सञ्चालन हुने र भारतीय पर्यटक आउने स्थानीयको अपेक्षा छ । ‘सिक्किमले सिमानासम्म सडक ल्यायो । हाम्रो पहिले नै सडक थियो । मध्यपहाडी लोकमार्ग कालोपत्रे हुने भयो । तिम्बु पोखरीलगायतका गन्तव्य जाने बाटोमा पर्ने भएकाले यो ठाउँको महत्त्व बढ्दै छ’, वडाध्यक्ष मोहन ढुंगेल भन्छन्, ‘मध्यपहाडी लोकमार्गको सुरुआती बजार र हावापानी पनि राम्रो भएकाले यो ठाउँ नमुना बजारमा विकास हुनेछ । हामीले पालिका स्तरबाट सकेसम्म काम गरिरहेका छौँ ।’


सीमावर्ती भारतको चिवाभञ्ज्याङदेखि थर्पुसम्मको सडक कालोपत्रे गर्न ठेक्का लागेको छ । थर्पुसम्म यसअघि नै सडक कालोपत्रे भएको छ । याङबरक गाउँपालिकाका सबै वडालाई छोएको मध्यपहाडी लोकमार्ग आगामी २ वर्षभित्र कालोपत्रे गर्ने योजना छ । 


यो सडक कालोपत्रे भइसकेपछि च्याङ्थापु बजारको विकास झनै हुनेछ । ‘प्राथमिक अस्पताल भइदिएदेखि थप सुविधा हुने थियो’, वडाध्यक्ष ढुंगेल भन्छन्, ‘सडक, विद्युत्जस्ता आधारभूत सुविधा छन् । नमुना बजारको रूपमा विकास गर्न केही काम बाँकी छन् ।’