close

तातोपानीका बस्तीमै चेकजाँचको सुविधा 

तातोपानीका बस्तीमै चेकजाँचको सुविधा 

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले घरदैलोमै पुगेर स्वास्थ्य चेकजाँचदेखि अपांग परिचयपत्र वितरण गरेको छ । अपांग व्यक्तिको समस्यालाई दृष्टिगत गरेर पहिलो पटक दुर्गम क्षेत्र लामाबगरमा स्वास्थ्य सेवा तथा अपांग परिचयपत्र वितरण गरेको हो ।

 

गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्याय, ६ नम्बर वडाध्यक्ष विशाल खड्का, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धिताल, डा. अरुण श्रेष्ठसहितको टोलीले अपांग परिचयपत्र तथा स्वास्थ्य जाँच गरेको हो ।

 

परिचयपत्र नवीकरण गराउन, नयाँ लिन १ दिन बास बस्नुपर्ने समस्या, स्वास्थ्य चौकीसम्म पुगेर स्वास्थ्य जाँच गराउन नसक्ने विशेष खाले अपांग व्यक्तिको राहतका लागि घरदैलोमै पुगेर परिचयपत्र वितरणका साथै स्वास्थ्य जाँच गरिएको उपाध्यक्ष उपाध्यायले जानकारी दिइन् ।


उनका अनुसार तातोपानी गाउँपालिका वडा नम्बर ७ स्थित दुर्गम बस्ती लामाबगर पुगेर त्यहाँका ११ जना अपांग व्यक्तिको परिचयपत्र नवीकरण, नयाँ उपलब्ध तथा स्वास्थ्य जाँच गरिएको छ ।

 

(क) वर्गका ३ जना, (ख) वर्गका ७ र (ग) वर्गका १ जना गरी ११ जनालाई परिचयपत्र उपलब्ध गराइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिए । अपांग व्यक्तिको स्वास्थ्य जाँचका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठाका डा. अरुण श्रेष्ठलाई समेत गाउँ लगिएको छ । गाउँमै पुगेर सञ्चालन गरिएको घुम्ती शिविरमार्फत डा. श्रेष्ठले स्वास्थ्य जाँच गरे । 

 

तातोपानीका सबैभन्दा दुर्गममा रहेका ७ र ८ नम्बर वडाका ताम्ती, टोल्पा, सर्मी, बारगाउँ, सुर्कीलगायतका बस्तीका अपांग व्यक्तिलाई घरदैलोमै पुगेर नियमित स्वास्थ्य जाँचदेखि परिचपत्र वितरण गर्ने लक्ष्य छ ।