close

बुटवलमा ६० वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

बुटवलमा ६० वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप दिइँदै

Trulli
ADVERTISEMENT

रूपन्देही– बुटवल उपमहानगरले समुदाय स्तरमा २३ फागुनदेखि कोरोनाविरुद्धको खोप सञ्चालन गर्दै छ । त्यसअघि उपमहानगरका सबै १९ वटै वडामा जोखिमयुक्त समूहमा कोभिड एन्टिजेन परीक्षण सुरु हुँदै छ । 


कोभिड–१९ को महामारी नियन्त्रणमा पालिकामध्ये मुलुकमै नमुना काम गरेको बुटवल उपमहानगरले जनस्वास्थ्यको क्षेत्रमा अर्को व्यवस्थित कामको थालनी गरेको हो । 


जोखिमयुक्त खोपअघि समूहमा गरिने एन्टिजेन परीक्षण र २३ फागुनदेखि समुदायमा सुरु गरिने खोप अभियानलाई प्रभावकारी बनाउन उपमहानगर प्रमुख शिवराज सुवेदीले स्वास्थ्यकर्मीलाई निर्देशन दिए । कोरोना महामारीको बुटवलमा जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी र नागरिक स्तरबाट भएको समन्वय एवं सहकार्यको उनले प्रसंशा गरे । 


उपमहानगरका सहरी स्वास्थ्य केन्द्र, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र तथा स्वास्थ्य चौकीमा खोप कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पतालसमेत गरी १० स्थानमा उपमहानगरको खोप केन्द्र रहनेछन् । 


वडा र टोलमा नागरिकको अवस्था र पायकलाई मिलाउँदै सबैको पहुँच सुनिश्चित गर्न निर्देशन दिइएको छ । खोप कार्यक्रमका लागि उपमहानगरका करिब ७० जना तालिमप्राप्त स्वास्थ्यकर्मी खटिनेछन् भने उनीहरूलाई सघाउन वडा स्तरमा वडाध्यक्षको संयोजकत्वमा वडा खोप समन्वय समितिसमेत गठन गरिएको उपमहानगरको अनुमगन समितिका संयोजकसमेत रहेकी उपप्रमुख गुमादेवी आचार्यले बताइन् । 


खोप कार्यक्रम र जोखिमयुक्त समूहमा एन्टिजेन परीक्षणका लागि खटिने स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गराउन उपमहानगरमा आयोजना गरिएको कार्यक्रममा प्रमुख सुवेदी, उपप्रमुख आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, सामाजिक विकास समिति प्रमुख र विभिन्न वडाका वडाअध्यक्षले स्वास्थ्यकर्मीलाई मनोबल उँचो बनाएर सेवामा खटिन आग्रह गरे । 


यस्तै, उपमहानगरका जनस्वास्थ्य अधिकृत उमा थापा, मेडिकल अफिसर डा. राजीव केसी, खोप कार्यक्रम प्रमुख कल्पना भट्टराई, जनस्वास्थ्य परीक्षक गीता पाण्डेलगायतले खोप लगाउने तरिकाबारे विषयगत जानकारी गराए ।


उपमहानगरले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने निर्णय गर्दै आवश्यक तयारी गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएको हो । 


संघीय सरकारको स्वास्थ्य मन्त्रालय अनुसार ६० वर्षमाथिका करिब २७ लाख ज्येष्ठ नागरिकलाई खोप लगाउने योजना छ । बुटवल उपमहानगरमा यो उमेर समूहका करिब २० हजार नागरिक रहेको अनुमान छ । 

२१ फागुनसम्म जोखिम समूहमा परीक्षण

कोभिडविरुद्धको खोप कार्यक्रमलाई समुदायमा लैजानुअघि बुटवल उपमहानगरमा मंगलबारदेखि जोखिमयुक्त समूहमा कोभिड एन्टिजन परीक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।


खोपलाई प्रभावकारी बनाएर सुदायमा कोभिडको अवस्थाबारे जानकारी लिन यो कार्यक्रम उपयोगी मानिन्छ । उपमहानगरका १९ वटै वडामा जोखममा रहेका समूहको पहिचान गर्दै उनीहरूको अवस्थाबारे अभिलेख र परीक्षण गरिने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत उमा थापाले बताइन् । 

मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), सिकलसेल एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनुपर्ने उनको भनाइ छ ।