close

'नक्कली डाक्टरले सिंगो चिकित्सा पेसा बदनाम'

'नक्कली डाक्टरले सिंगो चिकित्सा पेसा बदनाम'

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले नक्कली डाक्टरका कारण सिंगो चिकित्सा पेसा बदनाम भएको बताएका छन् ।

 

नेपाल चिकित्सक संघ लुम्बिनीले राष्ट्रिय चिकित्सक दिवस अवसरमा आयोजना गरेको मेडिभ्वाइस लुम्बिनी बुलेटिन विमोचन गर्दै मन्त्री बरालले केही व्यक्तिका कारण पेसै बदनाम भएकाले त्यस्ता व्यक्तिको खोजी गरेर कारबाहीको दायरामा ल्याउन प्रदेश सरकार लागिपरेको बताए ।

 

चिकित्सकलाई धेरैले भगवान्जस्तै माने पनि केही गलत व्यक्तिले पेसामा हिलो छ्याप्ने काम गरेकाले त्यसलाई अन्त्य गर्न प्रदेश सरकार लागेको र चिकित्सकले पनि अभियानमा साथ दिनुपर्ने उनको भनाइ छ ।

 

कोभिड–१९ को समयमा चिकित्सक, स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था देखिएकाले यसमा अझै सुधार आवश्यक रहेको उनको धारणा छ ।  ‘चिकित्सकले गरेको शुल्कवृद्धिको माग जायज छ । शुल्क वृद्धि भए अझ बढी विशेषज्ञ सेवा प्रदान गर्न सकिने भएकाले समय क्रमसँगै शुल्क वृद्धि हुनुपर्छ’, मन्त्री बरालले भने ।

 

कार्यक्रममा संघका अध्यक्ष डा. ईन्द्र ढकालले करोडौँ खर्चिएर अध्यायन गरेका चिकित्सकले न्यून शुल्कमा काम गर्नुपरेकाले सरकारसँग शुल्क वृद्धिको माग गरिएको जानकारी दिए । डाक्टरहरूको सामाजिक सुरक्षाको प्रत्याभूति सरकारले दिनुपर्ने माग उनको छ । ‘सरकारले स्वास्थ्यलाई सर्वसुलभ बनाउन निःशुल्क शिक्षा दिनुपर्छ । निःशुल्क शिक्षापछि मात्र स्वास्थ्य क्षेत्र सर्वसुलभ हुन्छ’, उनले भने ।

 

चिकित्सक दिवस अवसरमा संघले चिकित्सकका आश्रित परिवारका सदस्यहरूलाई परामर्श शुल्क नलिने घोषणासमेत गरेको छ ।  कार्यक्रममा डा. सन्तोष पोखरेल सम्पादक रहेको मेडिभ्वाइस लुम्बिनी बुलेटिनसमेत विमोचन गरिएको थियो । 

 

सो अवसरमा युसिएमएस भैरहवाका सहप्राध्यापक डा. कृष्णकुमार अग्रवालले मेडिकल इथिस, नेपाली परिवेशमा विषयक कार्यपत्र प्रस्तुत गरे । कार्यक्रम संघ अध्यक्ष डा. ईन्द्र ढकाल, उपाध्यक्ष डा. डिबी खत्री, महासचिव डा. सन्तोष पोखरेल उपस्थित थिए ।