close

आधारभूत स्वास्थ्य सेवामा अब्बल बन्दै पातारासी 

आधारभूत स्वास्थ्य सेवामा अब्बल बन्दै पातारासी 

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्ला सदरमुकाम खलंगादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका आधारभूत स्वास्थ्य सेवामा मजबुत बन्दै गएको छ । गाउँपालिकाको ७ वटै वडामा आधारभूत स्वास्थ्य सेवा, ५ शय्याका अस्थायी अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा आएपछि आधारभूत स्वास्थ्य सेवाको पहुँच बढेको हो ।

 

गाउँपालिका ७ वडामा विभाजित छ । ३, ६ र ४ नम्बर वडामा प्रसूतिगृहसहितको स्वास्थ्य सेवा र १ नम्बर वडामा स्वास्थ्य चौकी रहेको छ । त्यसैगरी ४ नम्बर वडाको डोलकाटीमा ५ शय्याको अस्थायी अस्पताल रहेको छ । 

 

यस्तै, स्वास्थ्य चौकी नभएका वडामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यका साथ आधारभूत स्वास्थ्य इकाइ स्थापना गरिएको स्वास्थ्य शाखा संयोजक रतन बुढ्थापाले बताए । उनले भने, ‘संघीय सरकारको १५ लाख रुपैयाँ बजेटमा ३ वटा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न थालिएको छ । वडा नम्बर २ तल्फीगाउँमा आधारभूत स्वास्थ्य केन्द्र स्थापना भइसकेको छ ।’ 

 

५ र ७ नम्बर वडामा स्थापना गर्न बाँकी रहेको उनले बताए । बाँकी रहेका आधारभूत स्वास्थ्य केन्द्र पनि छिट्टै स्थापना गरी सेवा प्रवाह गर्ने योजना रहेको उनले जानकारी दिए ।

 

गाउँपालिकाले स्थापना गरेको अस्थायी अस्पतालमा चिकित्सकको पदपूर्ति हुन सकेको छैन । प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाका अनुसार चिकित्सकका लागि विज्ञापन गरिए पनि कोही आएनन् । 

 

गाउँपालिकाले स्वास्थ्य क्षेत्रतर्फ चालू आर्थिक वर्षमा १ करोड ७४ लाख रुपैयाँ रकम विनियोजन गरेको छ । गाउँपालिकाकै स्वास्थ्य संस्थामा उपचार हुन नसकेका तथा जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि पालिकाकै एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला पठाउने गरिएको छ ।