close

नमोबुद्ध नगरले पायो एम्बुलेन्स उपहार

नमोबुद्ध नगरले पायो एम्बुलेन्स उपहार

Trulli
ADVERTISEMENT

काभ्रे- काभ्रेको नमोबुद्ध नगरपालिकाले सुविधासम्पन्न एम्बुलेन्स प्राप्त गरेको छ । बेन चोङ एन्ड फ्रेन्ड्स म्याजिकल लाइट र किमोलुङ फाउन्डेसन नेपालले सहयोगस्वरूप उपलब्ध गराएको एम्बुलेन्स सोमबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

 

किमोलुङ फाउन्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले नमोबुद्ध नगरप्रमुख टिपी शर्मा तिमल्सिनालाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । उक्त एम्बुलेन्स १११औँ अन्तर्राष्ट्रिय महिला दिवस अवसर पारेर नगरपालिकालाई हस्तान्तरण गरिएको हो । 

 

एम्बुलेन्स नमोबुद्धले फेन्दे फाउन्डेसन नेपालअन्तर्गत नगरपालिकाको वडा नम्बर १ मा सञ्चालित ठ्राङ्गु फेन्दे क्लिनिकलाई प्रदान गर्नेछ । क्लिनिकले नमोबुद्ध नगरको दाप्चा भेगका सर्वसाधारणलाई लक्षित गर्दै एम्बुलेन्स सञ्चालन गर्नेछ । 


एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा नमोबुद्धका नगरप्रमुख तिमल्सिनाले नगरबासीको स्वास्थ्य सेवामा किमोलुङ फाउन्डेसनसहितका दातृ संस्था तथा वाङचुक राप्तेन लामालाई सम्मान गरे ।

 

तिमल्सिनाले विगतदेखि नै नगरबासीको स्वास्थ्य सेवामा वाङचुक राप्तेन लामा, फेन्दे क्लिनकलगायतले पुर्‍याएको योगदान अविष्मरणीय रहेको र आगामी दिनमा पनि सहयोग जारी रहने विश्वास व्यक्त गरे । 


कार्यक्रममा किमोलुङ फाउन्डेसनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले नमोबुद्धको स्वास्थ्य सेवामा सक्रिय रहेको र नगरबासी महिलाको स्वास्थ्य समस्यालाई नजिकैबाट नियालेका कारण तिनको सेवाका लागि एम्बुलेन्स सहयोग गरेको बताए । 

 

कोभिड महामारीको समय राहत वितरणलगायतमा समेत सहयोग गरेको जानकारी दिँदै उनले आगामी दिनमा पनि नमोबुद्धबासीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । 


कार्यक्रममा फेन्दे फाउन्डेसनका केम्पो चोङजीले एम्बुलेन्स सहयोग उपलब्ध गराएकोमा सहयोगी दाताप्रति आभार प्रकट गरे ।