close

प्रचण्ड खेमाका प्रदेशसभा सदस्य न्यौपाने एमालेमै 

प्रचण्ड खेमाका प्रदेशसभा सदस्य न्यौपाने एमालेमै 

Trulli
ADVERTISEMENT

रूपन्देही- सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा खारेज गरी माओवादी केन्द्र र एमाले ब्युँताइदिएपछि लुम्बिनी प्रदेशमा प्रचण्ड खेमाका प्रदेशसभा सदस्य दधिराम न्यौपान एमालेमै रहने भएका छन् । उनले माओवादी केन्द्रमा नफर्किने र एमालेमै रहने बताएका हुन् । 

 

रूपन्देही क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने नेकपामा विभाजन आएपछि ओली समूहमा लागेका थिए । 

 

माओवादी केन्द्रबाट निर्वाचित सांसद उक्त पार्टीमा नफर्किए पद नरहनेबारेको जिज्ञासामा प्रदेशसभा सदस्य न्यौपानेले आफूलाई पदको लोभ नभएकाले सांसद पद गए पनि ओली नेतृत्वको पार्टी नछाड्ने बताए । 

 

‘सांसद पद गए जान्छ, जसले सांसद पद दिन्छ, उतै जाने कुरा भएन । म राजनीतिक, वैचारिक रूपमै ओली समूहमा लागेको हुँ । मलाई पदको लोभ छैन’, न्यौपानेले भने । 

 

हिजो राजनीतिक, वैचारिक रूपमा कुरा मिलेर पार्टी एकीकरण भएको, सोहीअनुरूप नीति, कार्यक्रम र योजना तय गरे पनि पार्टीमा विग्रह आएपछि राजनीति वैचारिक रूपले स्पष्ट भएर ओलीको समूहलाई समर्थन गरेको उनले स्पष्ट पारे ।

 

न्यौपानेसँगै अन्य केही सांसदसमेत एमालेसँगको सहकार्य तोड्न नहुने पक्षमा छन् । अदालतको फैसलासँगै धरापमा परेको भनिएको लुम्बिनी सरकार ढल्ने कुनै सम्भावना नरहेको प्रदेशका मन्त्रीहरूको दाबी छ । 

 

प्रदेशसभामा ४१ सिट रहेको तत्कालीन एमालेलाई सरकार टिकाउन थप ३ सिट भए पुग्छ ।