close

तिलोत्तमामा १० हजारलाई कोरोनाविरुद्धको खोप 

तिलोत्तमामा १० हजारलाई कोरोनाविरुद्धको खोप 

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान आउँदो १ चैतबाट सुरु हुँदै छ । नगरका सबै वडामा खोप केन्द्र कायम गरी कोरोनाविरुद्धको खोप अभियान चलाउने तयारी भइरहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

 

तिलोत्तमाभित्र हाल १७ वटा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा छन् । जनप्रतिनिधिसँगको परामर्शको आधारमा नगरबासीको सहजताका लागि हरेक वडामा खोप केन्द्र निर्धारण गरिएको जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए ।

 

२३ फागुनदेखि मुलुकभर सञ्चालन भएको दोस्रो चरणको कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत तिलोत्तमामा १–३ चैतसम्म चल्नेछ । अभियानअन्तर्गत ६५ वर्ष उमेर पुगेका नगरभित्रका झन्डै १० हजार ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाउने नगरपालिकाको अनुमान छ । 

 

नगर प्रमुख वासुदेव घिमिरेले उमेर खुल्ने सरकारी कागजातसहित आफ्नो नजिकको खोप केन्द्रमा पुगेर खोप लगाउन सबै नगरबासीलाई आग्रह गरे । स्वास्थ्य शाखाले जनप्रतिनिधिका साथै स्वास्थ्य संस्था इन्चार्जसँग खोप अभियानको तयारी र स्थानीय स्तरमा गर्नुपर्ने कामबारे छलफल गरिसकेको शाखा प्रमुख मोती पौडेलले बताए ।

 

नगरका स्वास्थ्य चौकी, सहरी स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्रमा खोप कार्यक्रम सञ्चालन हुनेछ । तिलोत्तमासहित रूपन्देहीका ८ पालिकामा १ चैतबाट कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यलय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए ।