close

अन्नपूर्णको मोहरेडाँडामा सामुदायिक लज

अन्नपूर्णको मोहरेडाँडामा सामुदायिक लज

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको अन्नपूर्ण–८ स्थित पर्यटकीय स्थल मोहरेडाँडामा अन्नपूर्ण गाउँपालिकाले सामुदायिक लज निर्माण सुरु गरेको छ । मोहरेडाँडा भ्रमणमा जाने पर्यटकको आवास सुविधाका लागि पर्यटन मन्त्रालय र पालिकाको सहयोगमा स्थानीयले लज  निर्माण सुरु गरेका हुन् ।


आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा मन्त्रालयले उपलब्ध गराएको ४५ लाख बजेटबाट पर्यटक, गाइड र मजदुर बस्ने ३ वटा भवन निर्माण भइसकेका छन् ।  


अन्नपूर्ण धौलागिरि सामुदायिक पर्यापर्यटन पदमार्ग सञ्चालक समितिका कोषाध्यक्ष रमन पुनले क्षमता विस्तारपछि मोहेरेडाँडामा दैनिक करिब १ पाहुना बास बस्ने मिल्ने बताए ।
पदमार्गको मुख्य गन्तव्य मोहरेडाँडामा पर्यटकको चाप बढेपछि बास बस्नका लागि समस्या भएकाले क्षमता विस्तार गरिएको उनले जानकारी दिए । “मानब बस्तीदेखि टाढा रहेको मोहरेडाँडामा पर्यटकले बास नपाएर दुःख पाउने समस्या हट्नेछ’, पुनले भने, ‘क्षमता विस्तारका लागि पूर्वाधारसँगै सुविधा पनि थपेर स्तरोन्नति गरेका छौं ।’


पर्यटन मन्त्रालयले घोरेपानी र मोहरेडाँडालाई १ वटा पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा विनियोजित २५ लाख बजेटबाट ६० फिट लम्बाइ र २५ फिट चौडाइको दुई तले भवन निर्माण भएको छ । 


माथिल्लो तलामा करिब १ सय जना बसेर खाना खान मिल्ने डाइनिङ हल र तल्लो तलामा २४ जना सुत्न मिल्ने कोठा बनाइएको छ । अघिल्लो वर्ष प्राप्त २० लाख बजेटबाट ४० जना पर्यटक सुत्न मिल्ने एक तले भवन बनाइएको थियो । 


३० जना गाइड र भरिया सुत्नका लागि ५० फिट लम्बाइ र २५ फिट चौडाइको एक तले अर्को भवनसमेत निर्माण भएको छ । भवनमा फर्निचर र लत्ताकपडा पदमार्ग सञ्चालक समितिले व्यवस्थापन गरेको हो । 


समुद्री सतहदेखि ३ हजार ३ सय  मिटर उचाइमा अवस्थित मोहरेडाँडाको वरपर बस्ती छैन । नागी, घोडेपानी, उल्लेरी हुँदै मोहरेडाँडा भ्रमणमा आउने पर्यटकको संख्या बर्सेनि बढ्दै गएपछि सामुदायिक लजको क्षमता विस्तारमा जोड दिइएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए ।


अन्य पर्यटकीय स्थल सडक मार्गमा जोडिएसँगै मोहरेडाँडामा आकर्षण र पर्यटक बढेका हुन् । पुनहिलदेखि मोहरे जोड्ने पदमार्ग निर्माण भएको छ । अप्ठेरने ठाउँमा सिँढी राख्ने र झाडी हटाएर सहज रुपमा आउजाउ गर्न सक्ने बनाइएको छ । 


बस्ती नभएकाले यहाँ समुदायको पहलमा ९ वर्षअघि सामुदायिक लज सुरु गरिएको थियो । लजको आम्दानी गाउँका सामुदायिक विद्यालय सञ्चालन, पदमार्गमा पूर्वाधार निर्माण र स्वास्थ्य तथा विपन्न बालबालिकाको शिक्षामा परिचालन गरिएको छ । 


मोहरेडाँडाबाट हिमशृंखला, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सिस्ने, गुर्जा, धौलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु रेन्जका २० भन्दा बढी हिमाल देख्न सकिन्छ ।  


फेवाताल, मिर्मीमा कालीगण्डकी थुनेको बाँध, पोखरा बजारसँगै म्याग्दी, पर्वत, बाग्लुङ, तनहुँ, गोरखा, कास्की, गुल्मी, पाल्पा, अर्घाखाँची, रुकुमलगायत जिल्लाका अग्ला पहाडका टाकुरा पनि देख्न सकिने मोहरेडाँडाको अर्को विशेषता हो ।


घना गुराँसे जंगलको बीचमा रहेको मोहरेडाँडा आसपासका क्षेत्रमा पशुगोठ, जडीबुटी, बोटबिरुवाको अवलोकनसँगै चराचुरुंगीका चिरबीर आवाज सुन्दै यात्रा गर्न सकिन्छ । पर्वतको बाँसखर्क, डाँडाकटेरी, म्याग्दीको नागी, टिकोट र खिवाङका बासिन्दाले सञ्चालन गरेको अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गको मुख्य गन्तव्य मोहरेडाँडा हो ।