close

गाउँ-गाउँमा प्रशासनः स्थानीय तहमा नागरिकमैत्री सेवाको पहल

गाउँ-गाउँमा प्रशासनः स्थानीय तहमा नागरिकमैत्री सेवाको पहल

Trulli
ADVERTISEMENT

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवाग्राही कार्यालयमा आएर सेवा नपाई फर्किन नपरोस् भनेर जिल्लाका स्थानीय तहहरूसँग गाउँ-गाउँ पुगेर छलफल थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवामा कागजी प्रक्रिया नमिलेका कारण कतिपय सेवाग्राहीले सास्ती खेप्नुपरेको छ ।

 

नागरिकले पाउने सेवा र त्यसका लागि आवश्यक कागजी प्रक्रिया गाउँबाटै पूरा गरेर प्रशासनसम्म आउने अवस्था सिर्जना गर्न जनप्रतिनिधि र कर्मचारीलाई अभिमुखीकरण गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । 

 

प्रशासनले बिनाकारण नागरिकलाई सेवाबाट वञ्चित नगर्ने भएकाले आफूले पाउने सेवा र त्यसको प्रक्रियाबारे नागरिक स्वयं तथा पालिका स्तरबाट जनप्रतिनिधि र कर्मचारीले पनि विचार पुर्‍याउनुपर्नेमा उनले जोड दिइन् ।

 

जिल्ला प्रशासन कार्यालयले नागरिकता, अपराध न्यूनीकरण र व्यक्तिगत घटना दर्ताका विषयमा स्थानीय तहमा जनप्रतिनिधि, राजनीति दल तथा सरोकारवालासँग अन्तरक्रिया गरिरहेको छ । जिल्ला प्रशासन कार्यालयले इस्मा, छत्रकोट र कालीगण्डकी गाउँपालिकामा कार्यक्रम गरिसकेको छ ।

 

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थीले नागरिकता, नागरिकताको विषयमा भएका कानुनी व्यवस्था, नागरिकताका प्रकार, प्राप्ति र खारेजी प्रक्रियाबारे जानकारी दिए । त्यस्तै, राष्ट्रिय परिचयपत्र, जन्म, मृत्यु अनि बसाइँसराइको पछिल्लो प्रावधान र गाउँमा देखिएका समस्याबारे छलफल गरिएको थियो । 

 

हातहतियार सिफारिस तथा नवीकरण, संस्था दर्ता र नवीकरणका विषयमा पनि जानकारी दिइएको थियो । अन्तरक्रियाका क्रममा जनप्रतिनिधि र कर्मचारीले स्थानीय स्तरमा काम गर्दा देखिएका अप्ठेरा, प्रशासन कार्यालयबाट भएका गल्ती र कानुनमा देखिएका अनविज्ञताका विषयमा जिज्ञासा राखेका थिए ।

 

गाउँपालिका प्रमुख लक्ष्मण विष्टले प्रशासनले नागरिक सम्बन्ध विस्तार र सेवा प्रवाहको बिषयमा देखाएको चासोको प्रशंसा गरे । भेटघाट र अन्तरक्रियाले दुवै तहको सेवा प्रवाह अझै व्यवस्थित बन्ने विश्वास उनको छ ।

 

‘स्थानीय तह र प्रशासन कार्यालय दुवैका कम्जोरी छन । त्यसका कारण नागरिकले अब सास्ती खेप्नुहुँदैन,’ उनले भने, ‘यो कार्यक्रमले स्थानीय तह र प्रशासनको सम्बन्ध विस्तारमा सहयोग पुग्नेछ ।’

 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी गोपालचन्द्र भट्टराईले पछिल्लो समय बढेका अपराधका शृंखलाले नागरिक र प्रहरीबीच टाढिएको सम्बन्ध पुनर्स्थापित गराउनु पनि कार्यक्रमको उद्देश्य रहेको प्रतिक्रिया दिए । 

 

उनले जिल्लाको पछिल्लो शान्ति-सुरक्षाको अवस्था र नागरिक सहयोग तथा सूचनाका विषयमा जानकारी दिए । सशस्त्र प्रहरी बलका डिएसपी अशोक लम्सालले विपद्को अवस्था, न्यूनीकरणका उपाय र तयारी विषयबारे अवगत गराए ।

 

गाउँपालिका उपप्रमुख विमला खत्रीले मदिरा कार्यविधि, मदिराका कारण परिवार र समाजमा परेको असर तथा बालविवाहको अवस्थाबारे जानकारी गराइन् । सोही अवसरमा जिल्ला मालपोत अधिकृत खेतबहादुर खत्रीले इस्माका जनप्रतिनिधि र कर्मचारीलाई मालपोत कार्यालयको सेवा प्रवाहको विषयमा अवगत गराए ।