close

मालिकाको बजेट खर्च ३० प्रतिशत 

मालिकाको बजेट खर्च ३० प्रतिशत 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७÷७८ को ८ महिने अवधिमा ३० प्रतिशत बजेट खर्च गरेको छ । 


कुल ४४ करोड १८ लाख ८३ हजार ४६८ रुपैयाँ बजेट विनियोजन गरेको मालिकाले २०७७ फागुन मसान्तसम्म १३ करोड ३६ लाख ८३ हजार ९५६ रुपैयाँ बजेट खर्च गरेको हो ।


चालूतर्फ २३ करोड ३२ लाख २७ हजार ४८६ रुपैयाँ विनियोजन भएकामा ८ करोड ८१ लाख ६७ हजार ७१६ रुपैयाँ खर्च भएको छ । 


पुँजीगततर्फ कुल २० करोड ८६ लाख ५६ हजार विनियोजन भएकोमा चार करोड ५५ लाख १६ हजार २३९ रुपैयाँ खर्च भएको लेखा अधिकृत फडिन्द्र आचार्यले बताए ।


पूर्वाधारसम्बन्धी २१५ वटा योजना योजना छनोट भएकामा १३९ वटा सम्झौता भएको छ । ३१ वटा योजना निर्माण सम्पन्न भएको र त्यत्तिकै संख्याका योजना निर्माण सकेर अन्तिम किस्ता भुक्तानीका लागि अनुगमन चरणमा रहेको उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् ।

उनका अनुसार ५ वटा झोलुंगे पुल निर्माणाधीन छन् । छ्यारछ्यारेमा बहुउद्देश्यीय सभाहल निर्माण सकिएको छ । डाडागाउँमा वडा नम्बर ३ को वडा कार्यालय भवन र दरवाङ–खारा–बिम सडक स्तरोन्नति योजना ठेक्कामार्फत कार्यान्वयन गरिएको छ । दरवाङ बजारको कटान रोकथामका लागि नदी नियन्त्रण र ढल निकास आयोजना ठेक्का प्रक्रियामा छन् । 


योजना सम्झौतासँगै कार्यान्वयनलाई तीव्रता दिइएकाले चैतदेखि पुँजीगत खर्चको दर बढ्ने उपाध्यक्ष बिटालुले बताइन् । सडक निर्माण, स्तरोन्नति, खानेपानी, सिँचाइ, पदमार्ग, भवन, नदी तथा पहिरो नियन्त्रण, खेलमैदान निर्माणसम्बन्धी योजनालाई प्राथमिकता दिइएको छ ।