बागलुङ– शुक्रबारदेखि बागलुङमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउने अभियान सुरु भएको छ । गण्डकी प्रदेशका २ जिल्ला बागलुङ र पर्वतमा यो अभियान थालिएको हो ।
११औँ पटक औषधी खाँदासमेत हात्तीपाइले रोगका बिरामी फेला परेकाले १२औँ पटक आमऔषधी सेवन कार्यक्रम सञ्चालन भएको स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको हो । यो अभियान २३ चैतसम्म सञ्चालन हुनेछ ।
बागलुङ नगरपालिकाको वडा नम्बर १४ नारायणस्थान र जैमिनी नगरपालिकाको वडा नम्बर १ कुश्मीसेरामा भएको जाँचमा बिरामी देखिएपछि पुनः औषधी खुवाउन लागिएको हो ।
अभियानअन्तर्गत शुक्रबार नजिकको स्वास्थ्य संस्था पुगेर सर्वसाधारणले औषधी खाए । शनिबार र आइतबार घरमै स्वास्थ्यकर्मी पुगेर औषधी खुवाउने तयारी रहेको कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् ।
२ लाख ८४ हजार ४ सय ७२ जनसंख्या रहेको बागलुङमा २ लाख ६४ हजार ८ सय ८६ जनालाई औषधी खुवाउने लक्ष्य छ । २ वर्षमुनिका बालबालिकाको संख्या ११ हजार ८ सय ४० र गर्भवती रहेका ७ हजार ७ सय ९६ जनाले यो पटक औषधी खाने छैनन् ।
औषधी खाँदा हानि हुने भन्ने अफवाह फैलाइएकाले नागरिकले रुचि नदेखाएपछि सम्झाई–बुझाई गरेर ढुक्क भएर औषधी खान आग्रह गरिएको उनले जानकारी दिइन् ।