close

प्रधानमन्त्रीको गृहनगरमै चल्यो सुकुम्बासी बस्तीमा डोजर

प्रधानमन्त्रीको गृहनगरमै चल्यो सुकुम्बासी बस्तीमा डोजर

Trulli
ADVERTISEMENT

झापा- प्रधानमन्त्री केपी ओलीको गृहनगर दमककाे सुकुम्बासी बस्तीमा दमक नगरपालिकाले डोजर चलाएको छ । सरकारी जमिन हड्पेर वर्षौंदेखि बसोबास गरेको भन्दै नगरले बस्ती हटाएको हो । 

 

त्यस क्षेत्रमा नगरपालिकाले सिटी सेन्टर निर्माण गर्ने योजना बनाएको छ । सरकारी जमिन खाली गर्न स्थानीय तहले पटक-पटक सूचना जारी गर्दासमेत अटेर गरेपछि नगरपालिकाले शुक्रबार बिहान डोजर चलाएर संरचना हटाउन थालेको हो ।

 

नगरपालिकाले डोजर चलाएर घरटहरा भत्काएपछि त्यहाँ बसोबास गर्दै आइरहेका २ दर्जन घरपरिवार विस्थापित भएका छन् ।

 

दमक वडा नम्बर ७ स्थित हाटखोला बजार क्षेत्रको सुनचाँदी लाइन र पूर्व-पश्चिम राजमार्ग गरी २ स्थानमा नगरपालिकाले डोजर चलाएको हो । त्यहाँ बसोबास गर्नेमध्ये केही नहुनेलाई यसअघि अन्यत्र व्यवस्थापन गरेर संरचना हटाउन लागेको नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए ।


बस्तीमा जबर्जस्ती डोजर चलाएपछि त्यसको प्रतिकारमा उत्रिएका स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

पटक-पटक घरटहरा हटाउन खोज्दा नसकेकाले प्रदेशबाट समेत प्रहरी झिकाएर नगरपालिकाले डोजर चलाएको बताइएको छ । नगरपालिकाले संरचना हटाउन सशस्त्र, नेपाल प्रहरी र नगर प्रहरी गरी डेढ सयभन्दा प्रहरी परिचालन गरेको थियो ।