close

चासो राख्छन् तर गाउँ नै जाँदैनन् योगेश भट्टराई 

सधैं कार्यकर्ताकोमा बास

चासो राख्छन् तर गाउँ नै जाँदैनन् योगेश भट्टराई 

सधैं कार्यकर्ताकोमा बास

Trulli
ADVERTISEMENT

ताप्लेजुङ - पर्यटनमन्त्री योगेश भट्टराई पहिलो पटक ०७४ मा ताप्लेजुङबाट संघीय संसद् प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । 


उनको पुर्ख्यौली घर मैवाखोला गाउँपालिका–३ साँघुमा पर्छ । परम्परागत ढुंगा, माटो र फुसले बनेको घर अहिले जीर्णोद्धार गरेर जस्तापाताले छाइएको छ ।  भट्टराईको पुर्ख्यौली घर जाने बाटो पूरै कच्ची छ । सदरमुकाम फुङलिङबाट करिब ३० किलोमिटर लामो यात्रापछि उनको पुख्र्यौली घर पुगिन्छ । 


त्यहाँ पुग्ने बाटोमध्ये फुङलिङ बजारबाट बहानन्देसम्मको ७ किलोमिटरबाहेक अरु सबै सडक कच्ची छ । ताप्लेजुङ सदरमुकाममा उनको आफ्नै नाममा घर छैन । 


राजधानी काठमाडौंमा भने उनको आफ्नै घर छ । पुख्र्यौली घर र खेतबारी भट्टराईकै आफन्तहरूको रेखदेखमा छ । मन्त्री भट्टराई सदरमुकाम फुङलिङ आउँदा अधिकांश समय उनका दाजु तथा नेकपा ताप्लेजुङका कार्यालय सदस्य मातृकाप्रसाद भट्टराईको वीरेन्द्रचोकस्थित घरमा बस्छन् । 


पछिल्लो समय मन्त्री भट्टराईका दाजु मातृका पुख्र्यौली घरको रेखदेखका लागि निरन्तर साँघु जाने र फर्कने गरेका छन् । तर, योगेश भने उनको घर नपुगेको लामो समय भयो । सहरका महँगा होटलमा बस्न उनको बानी नरहेको दाजु मातृका बताउँछन् । 


सुत्नलाई राम्रो र आलिशान कोठा तथा बिस्ताराको चाह छैन उनमा । खानामा पनि उतिसारो सौख राख्दैनन् । उनकी ९४ वर्षीया वृद्धा आमा महेन्द्राकुमारीको भनाइ मान्ने हो भने उनी सानै उमेरदेखि खानामा सौख राख्दैनन् । 


मन्त्री हुनुअघि सरदर एक–डेढ महिनामा गृहजिल्ला आइरहने भट्टराई मन्त्री भएपछि जम्मा ३ पटक मात्र आएका छन् ।  गत १५ साउनमा मन्त्री पदको जिम्मेवारी लिएको वर्ष दिन पूरा भयो । मन्त्री भएपछि कोरोना भयका कारण जिल्ला नआएको परिवारका सदस्य बताउँछन् । 


उनी जिल्लाका हरेक सरोकारका विषयमा चासो राख्छन् र सल्लाह तथा गुनासा ग्रहण गर्छन् । जनप्रतिनिधि कस्तो हुने, आफू र आफ्ना विषयमा जनताले राखेका आशा र अपेक्षा के छन् भनेर उनी निरन्तर जनताका आवाज सुन्छन् । 


त्यहीँ भएर उनले यस वर्ष ‘जनतासँग जनप्रतिनिधि’ नामक रेडियो संवाद कार्यक्रम सुरु पनि गरेका छन् । यस कार्यक्रममार्फत उनी जनताले आफूबाट गरेका आशा र अपेक्षाका विषय सुन्छन् र पूरा गर्ने योजना बनाउँछन् । 


यसबाहेक जिल्लाभरका जनप्रतिनिधिका गुनासा तथा सल्लाह एवं परामर्श लिन र जनताका पक्षमा कार्यक्रम तथा योजना बनाउनसमेत उनले यी र यस्ता कार्यक्रमलाई महत्व दिएका छन् । 


‘उहाँ जिल्लाका हरेक समस्यालाई उत्तिकै नजिकबाट नियाल्ने र समस्या समाधानका लागि आफ्नो पूर्ण समय दिन मन गर्नुहुन्छ’, ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंका अध्यक्ष चित्रगुप्त साँवाले भने । सरोकार केन्द्र पेसा तथा व्यवसायको सिलसिलामा ताप्लेजुङबाट उपत्यका आई बसोबास गर्नेहरूको संस्था हो । 


भट्टराईले अहिलेसम्म विकासका कार्यक्रम समान रुपले अघि सारेका छन् । संस्कृति तथा पर्यटन मन्त्रालयबाट चालू आर्थिक वर्षका लागि सारिएका कार्यक्रममा उनले जिल्लाभरका गुम्बा, प्रमुख पर्यटकीय स्थल र मठमन्दिरको जीर्णोद्धार तथा मर्मत कार्यमा खर्चने गरी बजेटको व्यवस्था गरेका छन् । 


तर, प्रमुख धार्मिक पर्यटकीय गन्तव्य पाथीभराको सडक र यस क्षेत्रको भौतिक पूर्वाधारका लागि भने जनअपेक्षित रकम विनियोजन नभएको गुनासो नागरिकको छ । पाथीभरा सडकलाई केन्द्रीय सडकमा समावेश गर्न नसक्नु, प्रादेशिक योजनामा समेत पाथीभरा सडकका लागि अपेक्षित रकम विनियोजन हुन नसक्नु, उत्तर–दक्षिण ओलाङचुङगोला सडकका लागि भनेजस्तो रकम विनियोजन हुन नसक्दा उनकै मतदाताले कहिलेकाहीँ गुनासो पनि गर्ने गरेका छन् ।


मन्त्री भट्टराईले निर्वाचनका बेला तयार पारेको घोषणापत्रमा पाथीभरा सडक, केबलकार, तमोर जलाशययुक्त आयोजना, उत्तर–दक्षिण ओलाङचुङगोला हुँदै चीन जोड्ने सडक, तमोर करिडोर, मदन भण्डारी राजमार्गसहितका ठूला योजनाको निर्माण कार्यबारेमा पनि महत्व दिएर योजनाको खाका कोरेका थिए । 


जनताको दैनिकीसँग जोडिएका विषयलाई पनि उठाएका उनका चुनावी घोषणापत्रमध्ये पाथीभरा सडक र केबलकार सञ्चालनका प्रक्रिया भने अधुरै छन् । 


तमोर जलाशययुक्त आयोजना, उत्तर–दक्षिण ओलाङचुङगोला हुँदै् चीन जोड्ने सडक, तमोर करिडोर, मदन भण्डारी राजमार्गसहितका ठूला योजनाको निर्माण कार्यका लागि ताप्लेजुङ खण्डका निम्ति मोटो रकम विनियोजन गरेर कामा तीव्रता नदिने हो भने त्यसमा लाग्ने अवस्था छ । 


रकम भए चालू आवभित्रै उत्तर–दक्षिण ओलाङचुङगोला हुँदै चीन जोड्ने सडकको गोलासम्मको ट्रयाक खुल्ने अवस्था छ । अन्यको प्रक्रियाका प्रारम्भिक चरणका कार्य भने भइरहेका छन् । बाँकी कार्यकालभित्र यी मेघा प्रोजेक्ट ठानिएका योजनामा ध्यान लगाए योजनामा प्रगति देखिने अवस्था छ । 


सरल स्वभावका मन्त्री भट्टराई आम रुपमा जिल्लाका नागरिकसँग भेटघाट र भलाकुसारी गर्न रुचाउँछन् । बढी समय आफ्नै पार्टी कार्यकर्तासँगै बिताउने भट्टराई मतदातासँग सल्लाह र कुराकानीका लागि आनाकानी गर्दैनन् ।


हाँसेर बोल्ने, आफू बोलाउँदै अघि सर्ने र सबै उमेर समूहका नागरिकसँग उनीहरूकै भाका र लयमा गफ गर्न सक्ने नेताका रुपमा मन्त्री भट्टराईले आफ्नो पहिचान बनाएका छन् ।