close

प्रधानाध्यापकसहित ८ जनामा संक्रमण पुष्टिपछि विद्यालय बन्द

प्रधानाध्यापकसहित ८ जनामा संक्रमण पुष्टिपछि विद्यालय बन्द

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको कालिका मानविज्ञान विद्यालयका प्रधानाध्यापकसहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । 

 

नेपालमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण प्रवेश गरेसँगै समुदाय स्तरमै पुगेकाले विद्यालय, शिक्षक र विद्यार्थी संक्रमणको उच्च जोखिममा रहेको भन्दै विद्यालय बन्द गरिएको हो । 

 

रूपन्देहीमा हालसम्म एउटै विद्यालयमा यति धेरै संख्यामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक हो । करिब ८ हजार विद्यार्थी अध्ययरत रहेको सो विद्यालयका शिक्षक, विद्यार्थी कोरोना संक्रमणमा परेपछि संक्रमणबाट जोगाउन विद्यालय बन्द गरिएको प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताए ।

 

प्रअ ज्ञवालीले भने, ‘म आफैं संक्रमणमा परेर आइसोलेसनमा बसेको छु । विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार विद्यालय बन्द गरिएको हो ।’

 

प्रअ ज्ञवालीका अनुसार कक्षा १० को परीक्षा सञ्चालन भइरहेका कारण थप ३ दिन मात्र सञ्चालन गर्ने र अन्य कक्षा केही समय अनलाइनमार्फत चलाउने निर्णय भएको छ ।

 

रूपन्देहीलगायत विभिन्न जिल्लामा पछिल्लो भेरियन्टको कोरोना केही विद्यालयमा पनि देखिन थालेपछि पुनः शैक्षिक संस्था बन्द गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरको छ । 

 

प्याब्सनले भने विद्यालय बन्द गर्न नहुने तर्क पेस गर्दै आएको छ । केही दिनयता विद्यालय स्तरमा कोरोना संक्रमणको संख्या बढ्न थालेको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

 

संक्रमण रोक्न सबैको सजगता र सचेतना आवश्यक रहेको बताउँदै डा. गिरीले सरकारले निर्धारण गरेका जनस्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प नरहेको जानकारी दिए ।


बुटवलको कोरोना विशेष अस्पतालमा ३ जना संक्रमितको मृत्यु

 

रूपन्देहीको लुम्बिनी प्रादेशिक अस्तालद्वारा सञ्चालित बुटवलको धागो कारखानामा रहेको कोराना विशेष अस्पतालमा ३ जना संक्रमितको मृत्यु भएको छ ।


मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला, कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ का ७९ वर्षीय पुरुष र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ की ७९ वर्षीया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

 

तिलोत्तमाकी संक्रमित महिला २१ चैतमा कोरोना रिपोर्ट पोजेटिभ भएपछि २३ चैतमा कोरोना अस्पतालमा भर्ना भएको अस्पताल प्रशासनले जनाएको छ ।

 

यस्तै, कपिलवस्तुका संक्रमित पुरुषको २७ चैतमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने उनलाई सोही दिन नै कोरोना अस्तालमा भर्ना गरिएको थियो । 

 

अर्घाखाँचीकी संक्रमित महिलाको पनि २७ चैतमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन कोरोना अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ । पछिल्लो समयमा रूपन्देहीमा कोरोना संक्रमित बढेको जिल्ला स्वास्थ्य कार्यालय रूपन्देहीले बताएको छ ।