close

मौसमी रुघाखोकीको चपेटामा ताम्ती गाउँ

डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण 

मौसमी रुघाखोकीको चपेटामा ताम्ती गाउँ

डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण 

Trulli
ADVERTISEMENT

जुम्ला- मौसमी रुघाखोकी फैलिँदा जुम्लाको तातोपानी गाउँपालिका मुकामदेखि दक्षिणी भेगमा पर्ने भेरीखोलाको ताम्ती गाउँ प्रभावित भएको छ । मौसमी रुघाखोकी फैलिँदा स्थानीय बालबालिका बढी प्रभावित भएका हुन् । 

 

तातोपानी गाउँपालिकाको भेरीखोला ७ र ८ नम्बर वडा पर्दछ । ७ नम्बर वडाको ताम्तीस्थित जनजागृति माध्यमिक विद्यालयका २६ जना विद्यार्थी बिरामी परेका छन् । वार्षिक परीक्षा चलिरहेका बेला विद्यार्थी एकाएक बिरामी पर्न थालेपछि विद्यालय  बन्द गरिएको छ ।  

 

विद्यार्थीमा टाउको दुख्ने, ज्वरो आउने र पेट दुख्ने लक्षण देखिएको जनजागृति माध्यमिक विद्यालय ताम्तीका प्रधानाध्यापक जनक रावतले बताए । उनले भने, ‘अज्ञात रोगले विद्यार्थी थला परेका छन् । परीक्षा प्रभावित बनेको छ ।’

 

गत २३ चैतमा परीक्षामा अनुपस्थित छात्र २४ चैतमा अचेत अवस्थामा भेटिएका थिए । त्यसपछि विद्यार्थी एकाएक बिरामी पर्न थालेका हुन् ।  

 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक रावत विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको बताउँछन् । बिरामी विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाइएको छ । विद्यार्थी बिरामी भएपछि गाउँ नै त्रसित अवस्थामा छ ।  

 

समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको वडाध्यक्ष मक्करबहादुर रावतले जानकारी दिए । 

 

‘गाउँले अहिले निकै डराएका छन् । अज्ञात रोगले थला पार्न थालेको छ,’ उनले भने, ‘तत्काल बिरामीको पहिचान गरेर उपचार व्यवस्था मिलाउन आग्रह गरिएको छ ।’


लामो समय खडेरी पर्दा गाउँ-गाउँमा स्वास्थ्य समस्या देखिन थालेको स्थानीय बताउँछन् । अहिले छिमेकी गाउँमा समेत बिरामी पर्ने क्रम सुरु भएको छ ।

 
तातोपानी वडा नम्बर ७ का वडाध्यक्षको सिंगो परिवार अज्ञात रोगबाट संक्रमित भएको छ । कोरोनाको डरले आतंकित स्थानीय अज्ञात रोगले थप सशंकित भएका छन् । 

 

तातोपानी गाउँपालिका स्वास्थ्य शाखा संयोजक गुरुप्रसाद चौलागार्इंका अनुसार मौसमी रुघाखोकी फैलिएको हो । यसको रोकथामका लागि आवश्यक औषधी र स्वास्थ्यकर्मी परिचालनको व्यवस्थापन गरिएको उनले बताए । 

 

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार रोगले गाउँ नै प्रभावित भएको जानकारी प्राप्त भएपछि १ वैशाखमा स्वास्थ्यकर्मीको टोली त्यहाँ पुगेको छ । उनले भने, ‘गाउँमा डेढ सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्‍यौँ । मौसमी रुघाखोकी फैलिँदा बालबालिका बिरामी परेको भन्ने बुझिएको छ ।’ 

 

आवश्यक औषधी उपलब्ध गराएको उनले बताए । अहिले मौसम सुक्खा भएकाले यस्ता किसिमका मौसमी रुघाखोकी फैलिने सम्भावना धेरै हुने हुँदा स्थानीयलाई सचेत रहन आग्रह गरिएको उनले जानकारी दिए ।