close

चुलेल गाउँका तन्नेरीले बनाए कार

चुलेल गाउँका तन्नेरीले बनाए कार

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका हुन् ।

 

वडाध्यक्ष नवीन शर्माका अनुसार चुलेल गाउँका प्रशान्त विक र अज विकले बनाएको गाडी गाउँपालिका अध्यक्ष देवलसिंह रावलले उद्घाटन गरे ।

 

गाउँपालिका अध्यक्ष रावल, वडाध्यक्ष शर्मासहित सरोकारवाला निकायको सहभागितामा गाउँमै बनाएको कार गुडाएपछि स्थानीय दंग परेका छन् ।

 

२० वर्षीय प्रशान्त र १९ वर्षीय अजले स्थानीय काठ र फलामसहित बाहिरी आवरण सिसाबाट कार निर्माण गरेको स्थानीय रतन वडले जानकारी दिए ।

 

यसैगरी सोलारमा १२ भोल्टको डबल ब्याट्री जडान गरिएको छ । छतमा सोलारका पातासमेत जडान गरिएको छ ।

 

अवसर पाए आफैं गाडी र मोटरसाइकलसमेत बनाउन सक्ने प्रशान्त विक बताउँछन् । प्रशान्तले नाग्म–गमगडी सडकमा १ सय मिटरसम्म सो गाडी कुदाएको स्थानीय तीर्थ वडले बताए । उक्त कार अघिल्लो दिन १ किलोमिटर गुडेको थियो । कारमा भित्र ३÷४ जना बस्न मिल्छ ।

 

गाउँपालिका अध्यक्ष देवलसिंह रावलले युवाहरूको मिहिनेत र सिर्जनालाई पालिकाले संरक्षण गरेर थप तालिमका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । 

 

वडाध्यक्ष शर्माले २ युवाको सिर्जनाअनुसारको काम र सीपका लागि गाउँपालिका र वडापालिकाले प्राथमिकता दिने प्रतिबद्धता जनाए ।

 

यसरी आयो कार बनाउने सोच 


सडकमा गाडी गुडिरहेको देखेपछि यो कसरी बन्छ भन्ने विषयमा जिज्ञासा लाग्ने गरेको प्रशान्त सुनाउँछन् । त्यसको अभ्यास २–३ वर्षदेखि गर्दै आएका उनीहरूको भनाइ छ ।

 

पहिले १–२ किलोमिटर टाढाबाट रिमोटबाट ढोका खोल्ने, जौ काट्ने मेसिनसमेत बनाएको उनीहरूले जानकारी दिए । त्यसपछि गाडी बनाउने सोच आएको र अहिले घरपरिवारको सहयोगमा १ लाख रुपैयाँ खर्चिएर बनाएको गाडी गुडाएको प्रशान्त बताउँछन् ।

 

२ जनाको मिहिनेतले कार बनाउन सम्भव भएको उनको भनाइ छ । गाउँपालिकाले सो गाडी खस संग्राहलयमा राख्ने बताएको छ । गाउँमै गाडी बनाएर गुडाएपछि स्थानीयले उद्घाटनका दिन पुरस्कारसहित आर्थिक सहयोगसमेत गरेका छन् । 

 

भूमि व्यवस्थापन आयोगका विज्ञ तथा स्थानीय सुमन आचार्यले १० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको प्रशान्तले बताए । १८ हजार रुपैयाँ नगद पुरस्कारस्वरूप उठेको छ ।