close

सासू भत्ता वितरण शिविर चलाउँदै साकेला 

सासू भत्ता वितरण शिविर चलाउँदै साकेला 

Trulli
ADVERTISEMENT

खोटाङ– सामाजिक सुरक्षा भत्ता वितरणका लागि साकेला गाउँपालिकाले वडा–वडामा भुक्तानी शिविर सञ्चालन गर्ने तयारी गरेको छ । 

 

गत १० चैतदेखि नेपाल एसबीआई बैंकको साकेला शाखाबाट दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको गाउँपालिकाले आगामी १२ देखि १७ वैशाखसम्म वडा–वडामा भुक्तानी शिविर चलाउन लागेको हो ।

 

सामाजिक सुरक्षा भत्ता शीर्षकको लाखौँ रकम चुहावट भइरहेको खुलासाको केही समयपछि साकेला गाउँपालिकाले बैंकमार्फत सम्बन्धित व्यक्तिको हातमा सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको हो । 

 

सामाजिक सुरक्षाभत्ता पाउने लाभग्राहीका लागि १२ वैशाखमा वडा नम्बर ३ खिदिमाको वडा कार्यालयमा, १३ वैशाखमा वडा नम्बर २ रतन्छामा, १४ वैशाखमा वडा नम्बर ५ मात्तिम बिर्तामा, १५ वैशाखमा वडा नम्बर १ बाँझेच्यानडाँडामा भुक्तानी शिविर सञ्चालन गरिनेछ ।

 

यस्तै, १६ वैशाखमा बाँझेच्यानडाँडाकै डाँडागाउँ चण्डेश्वरी आधारभूत विद्यालय र १७ वैशाखमा वडा नम्बर ४ मात्तिम मानेभञ्ज्याङको पाउँदुरेमा भुक्तानी शिविर सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

 

हाल कतिपय लाभग्राहीले बैंकमै पुगेर सामाजिक सुरक्षा भत्ता लिइरहेका छन् । बैंकसम्म पुग्न नसक्ने लाभग्राहीका लागि भुक्तानी शिविरको आयोजना गरिएको गाउँपालिका अध्यक्ष अर्जुन खड्काले बताए । 

 

भुक्तानी शिविरबाट सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीले अनिवार्य बैंकमा खाता खोलेको हुनुपर्नेछ । 

 

एकै आर्थिक वर्ष ८७ लाख बढी सामाजिक सुरक्षा भत्ताबापतको रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएपछि गाउँपालिकाले दोस्रो चौमासिकदेखि बैंकिङ प्रणालीमार्फत भत्ता वितरण व्यवस्था मिलाएको हो । पञ्जीकरण शाखा प्रमुख डिल्लीमान राईका अनुसार वडा नम्बर १ बाँझेच्यानडाँडामा ४३३ जना, वडा नम्बर २ रतन्छामा २९७ जना, वडा नम्बर ३ खिदिमामा १७४ जना, वडा नम्बर ४ मात्तिम मानेभञ्ज्याङमा ३०७ जना र वडा नम्बर ५ मात्तिम बिर्तामा २५२ जना लाभग्राही छन् । 

 

कोभिड–१९ को महामारी बल्झिने खतरा बढेपछि हाल बैंकमा पनि वडागत रूपमा पालो बाँडेर सामाजिक सुरक्षा भत्ता वितरणको व्यवस्था मिलाइएको छ । 

 

वडा–वडामा मृत्यु भइसकेका, बसाइँ सरिसकेका वा अन्य व्यक्तिको नाममा फेक डकुमेन्ट बनाएर सामाजिक सुरक्षा भत्ता दुरुपयोग भइरहेको पाइएपछि गाउँपालिकाले अनियमितता रोक्न अभियान नै चलाएको थियो । 

 

सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी बनाउन साकेलाले दाबी विरोधका लागि गत ५ असोजमा लाभग्राहीको नामावली सार्वजनिक गरेको थियो । भोट बिग्रिने भन्दै जिल्लाका अन्य स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणलाई चुस्त र पारदर्शी बनाउन हच्किने गरेको अवस्थामा साकेलाले भने भत्ता वितरणलाई पारदर्शी बनाएको हो ।

 

साकेलामा आर्थिक वर्ष २०७६÷७७ मा मात्र ८७ लाख ४१ हजार ६ सय रुपैयाँ रकम चुहावट भएको प्रतिवेदन सार्वजनिक भएको थियो । मृत्यु भइसकेका, कतिपय बसाइँ सरिसकेका तथा कतिपय हुँदै नभएका व्यक्तिको नाममा फेक डकुमेन्ट बनाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता भइरहेको विषय बाहिरिएपछि गाउँपालिका उपाध्यक्ष सरिता खड्काको संयोजकत्वमा गत १४ असोजमा गठित समितिले २३ मंसिरमा छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो । 

 

केपिलासगढीमा पनि आलोपालो 


कोभिड–१९ को महामारीलाई दृष्टिगत गर्दै केपिलासगढी गाउँपालिकाले पालो गरेर बैंकमार्फत वडागत रूपमा सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । 

 

महामारीका बेला भीडभाड हुन नदिन ७ वटै वडाका लाभग्राहीलाई सालपा विकास बैंकमार्फत आलोपालो गरेर सामाजिक सुरक्षा भत्ता बाँडिएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । 

 

२६ चैतमा वडा नम्बर ४ बाक्सिलाका लाभग्राहीलाई, २६ चैतमा वडा नम्बर५ सप्तेश्वर, २७ चैतमा वडा नम्बर ७ सुँदेल, २९ चैतमा वडा नम्बर १ फेदी, ३० चैतमा वडा नम्बर २ खार्ताम्छा तथा ३१ वैशाखमा वडा नम्बर ३ बाँसपानी र वडा नम्बर ६ दिप्सुङका लाभग्राहीलाई भत्ता वितरण गरिनेछ ।