close

तिलोत्तमाका आइसोलेसन सेन्टर तयारी अवस्थामा

तिलोत्तमाका आइसोलेसन सेन्टर तयारी अवस्थामा

Trulli
ADVERTISEMENT

रूपन्देही- रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राखेको छ । गत वर्षको कोरोना महामारीको समय निर्माण गरिएका आइसोलेसन सेन्टरमा आवश्यक उपकरण व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए ।

 

कोरोना संक्रमणको पूर्वतयारीअन्तर्गत तिलोत्तमाले शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नम्बर २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रूपमा तयार गरिएको भट्टराईले जानकारी दिए ।

 

बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमाले गत वर्ष आइसोलेसन सेन्टर निर्माण गरेको थियो । 

 

कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखानास्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो । २० शय्याको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईको भनाइ छ ।

 

सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधान चाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिनेछ ।

 

केन्द्रमा बिरामीको २४ सै घन्टा सेवा दिने गरी स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ । कोरोना महामारीबाट नगरबासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नै आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो । बुटवल कोरोना अस्पतालले पठाएका जुनसुकै ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गरिनेछ । 

 

पछिल्लो तथ्यांकअनुसार तिलोत्तमामा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । शनिबारसम्मको तथ्यांकअनुसार नगर क्षेत्रमा १५३ जना सक्रिय संक्रमित छन् । शनिबार मात्र तिलोत्तममा नयाँ ३५ जना संक्रमित थपिएको स्वास्थ्य शाखाले जनाएको छ ।