close

कोरोना रोकथाममा जुट्यो पातारासी

कोरोना रोकथाममा जुट्यो पातारासी

Trulli
ADVERTISEMENT

जुम्ला- जुम्लाको पातारासी गाउँपालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको छ । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकको निर्णयपछि पालिका कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेको हो । 

 

पातारासी गाउँपालिका ७ वडामा विभाजित छ । प्रत्येक वडा कार्यालयले भारतलगायत विदेश तथा जिल्लाबाहिर रहेका आफ्ना नागरिकको विवरण अद्यावधिक गरी संक्रमित पहिचान गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।  

 

गाउँपालिकाको प्रवेश द्वार उर्थु चौतारामा हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य जाँच तथा बाहिर जिल्लाबाट आउनेहरूको दैनिक विवरण संकलन गरिनेछ ।

 

उनले भने, ‘प्रत्येक गाउँबस्तीमा जिल्ला बाहिर र विदेशबाट आउने नागरिकलाई होम आइसोलेसनमा राखिनेछ । कोरोनासम्बन्धी जनचेतना अभियान सञ्चालन गर्ने योजना अगाडि बढेको छ ।’ 

 

अस्थायी कोभिड-१९ अस्पताल व्यवस्थित बनाउने पनि तयारी गरिएको गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले बताए । ‘१६ वैशाखदेखि अर्को निर्णय नहुन्जेल पालिकाका सम्पूर्ण विद्यालय बन्द गरेका छौँ’, उनले भने, ‘केन्द्र, प्रदेश एवं जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ ।’ 

 

यथाशीघ्र विपद् प्रतिकार्य योजना तयार गरी कार्यान्वयन गर्ने, भौतिक दूरी र स्वास्थ्य सावधानी कायम गरी वडा कार्यालय तथा पालिकाको दैनिक कार्य नियमित रूपमा सञ्चालन गर्ने तयारी छ ।