close

बुटवल उपमहानगरमा खुल्यो अक्सिजन बैंक

बुटवल उपमहानगरमा खुल्यो अक्सिजन बैंक

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उपमहानगरले उपमहानगरभित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरेर निःशुल्क अक्सिजन सेवा सुरु गरेको छ ।

 

उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन तथा आफ्नै घरमा आइसोलेट भएका संक्रमितलाई श्वासप्रश्वासमा समस्या भएका तत्काल स्वास्थ्यकर्मीसहितको टोली अक्सिजन लिएर पुग्नेछ ।

 

मंगलबार बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले अक्सिजन सेवा बैंकको शुभारम्भ गरे । उपमहानगर कार्यालय परिसरमा अक्सिजन सिलिन्ड, सिलिन्डर बोक्ने गाडी, बिरामी बोक्ने एम्बुलेन्स र स्वास्थ्यकर्मीलाई तम्तयारी अवस्थामा राखिएको र आइसोलेसनबाट सूचना आउनासाथ परिचालन हुने गरी व्यवस्था मिलाइएको प्रमुख सुवेदीले बताए ।

 

कोरोना संक्रमितको मनोबल बढाउन आयुर्वेद औषधी बोकेर जनप्रतिनिधि आफैँ घर-घरमै पुगिरहेका बेला अहिले अक्सिजनको माग बढेपछि स्वास्थ्यकर्मीसहितको टोलीले सिलिन्डर पुर्‍याउने गरी नयाँ व्यवस्था गरिएको हो । एम्बुलेन्स, पहिलो चरणमा १ सय थान सिलिन्डर, अक्सिजन बोक्ने गाडी, स्वास्थ्यकर्मी बोक्ने गाडी तयारी अवस्थामा राखिएको छ । 

 

बुटवलका अस्पतालमा आइसियु बेड अभाव भई संक्रमितको ज्यान गएका खबर निरन्तर आउन थालेपछि उपमहानगरले नयाँ काम थालेको हो । अक्सिजनसहितको आइसीयु बेड अभावकका कारण बुटवलमा कतिपय संक्रमितको ज्यान गएपछि उपमहानगरले अक्सिजन अभावमा ज्यान जानुपर्ने बाध्यतामा रहेकालाई लक्षित गरेर अभियान सुरु गरेको हो ।

 

होम आइसोलेसनमा रहेकाहरूको परीक्षण, नियमित स्वास्थ्य निगरानी, योग र आयुर्वेद औषधी वितरण, एम्बुलेन्स तयारी अवस्थामा राखेको र लक्षित समुदायका लागि अक्सिजनको समेत व्यवस्था मिलाइएको छ । नगरका दीर्घ रोगीको विवरण संकलन गरेर घरमै अत्यावश्यक औषधी घरमै पुर्‍याइरहेको छ ।

 

होम आइसोलेसनमा बसेका संक्रमितलाई तत्कालै अक्सिजन मात्रै भए पनि स्वास्थ्य अवस्था नबिग्रने देखिएपछि अक्सिजनको व्यवस्था गर्न लागिएको नगरप्रमुख सुवेदीको भनाइ छ ।

 

आवश्यक प्रक्रिया पूरा गरेर अक्सिजन उपलब्ध गराइने र स्वास्थ्यकर्मीलाई समेत घरमै पठाइनेछ । उपमहानगरको स्वास्थ्य तथा जनसंख्या महाशाखामार्फत स्वास्थ्यकर्मी, प्राविधिकलाई अक्सिजन उत्पादकसमक्ष छलफल गर्न, अक्सिजन सिलिन्डर संकलन गर्न, रिफिल गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजकत्वमा उपसमिति गठन गरेर अक्सिजन बैंक स्थापना प्रक्रिया अगाडि बढाएको थियो ।

 

सोही कार्यदलको सहकार्यमा अक्सिजन बैंक सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले वताए । उक्त कार्यदलमा रूपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, औषधी व्यवसायी संघका सुरज भट्टराई, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लायन्स क्लब एरिया ४ का सन्दीप कसौधनलगायत छन् ।

 

अक्सिजन उत्पादक कम्पनी र कोरोना उपचारका लागि स्थापना भएका अस्पतालसँग प्राविधिक विषयमा छलफल भएको र अक्सिजन उपलब्ध गराउने समुदायका लागि मापदण्डसमेत बनाइएको छ ।

 

आयुर्वेद बोकेर संक्रमितको घरदैलोमा 


कोरोना संक्रमित भएकालाई हौसला बढाउन प्रमुख-उपप्रमुखसहितको टोली यो वर्ष पनि घरदैलोमा गएको छ । होम आइसोलेसनमा बसेकाका लागि भिटामिन बी,सी,डी र ई, अमला र गिलोयोको चूर्ण, जिंक ट्याब्लेट, पेन्टाप्राजोल टेबलेट र सिटामोलसहितका औषधीसहितको पोको बोकेर जनप्रतिनिधि यो वर्ष पनि संक्रमितको घरघर पुगेका हुन् ।


उपमहानगरका प्रमुख सुवेदी, उपप्रमुख आचार्य, प्रवक्ता रामप्रसाद रेग्मी तथा सम्बन्धित वडाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीसहितको टोलीले संक्रमितको घरघरमा पुगेर हौसला बढाउने काम गरेको हो ।


आयुर्वेद औषधी र जडीबुटीसहित स्वास्थ्यलाभको पत्र बोकेर उनीहरू घरघर पुगेको स्वास्थ्य शाखाका प्रमुख उमा थापाले जानकारी दिइन् । बुटवलले मुलुकमै पहिलो पटक कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकालाई घरमै गएर भेट्ने कार्यक्रम सुरु गरेको थियो ।

 

होम आइसोलेसनमा मापदण्ड पूरा गर्न आग्रह


कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेकाहरूलाई स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाउन उपमहानगरले आग्रह गरेको छ ।


होम आइसोलेसनमा बसेकाहरूले सम्बन्धित टोल विकास संस्था वा वडाका जनप्रतिनिधिलाई नाम टिपाउन उपमहानगरले अपिल गरेको छ । संक्रमितका लागि घरदैलोमा पुग्नेदेखि अक्सिजन सिलिन्डरसहितका एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउन सहज हुने भएकाले नाम र अवस्था टिपाउन आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले बताए ।

 

कन्ट्याक ट्रेसिङ र लक्षण देखिए निःशुल्क परीक्षण


उपमहानगरले संक्रमितका परिवार तथा समुदायमा कन्ट्याक ट्रेसिङ गर्ने र लक्षण देखिए निःशुल्क परीक्षणको व्यवस्था मिलाएको छ । १९ वटै वडा, स्वास्थ्य चौकी, सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र र उपमहानगरको स्वास्थ्य शाखामा सूचना दिएपछि उनीहरूको स्वाब संकलन गरेर परीक्षण गरिनेछ ।


संक्रमितका लागि सवारी साधन आवश्यक परे होल्डिङ सेन्टरसम्म र आइसोलेसनदेखि आपतकालीन सेवा प्रदान गर्ने स्थलसम्म पुर्‍याउने व्यवस्था मिलाइएको प्रवक्ता रेग्मीले बताए । यी सबै कामका लागि फोकल पर्सन तोकिएको छ ।