close

बागलुङमा अक्सिजन अभाव, प्रशासनले थाल्यो सिलिन्डर संकलन

बागलुङमा अक्सिजन अभाव, प्रशासनले थाल्यो सिलिन्डर संकलन

Trulli
ADVERTISEMENT

बागलुङ- अस्पतालमा अक्सिजन अभावमा बिरामीको उपचार प्रभावित हुन नदिन जिल्ला प्रशासन कार्यालय बागलुङले निजी क्षेत्र तथा प्रतिष्ठानमा रहेका सिलिन्डर संकलन सुरु गरेको छ ।


गृह मन्त्रालयको निर्देशमा प्रहरी र प्रशासनका कर्मचारीको सहयोगमा सिलिन्डर संकलन गरिएको हो । बागलुङमा १ सय बढी सिलिन्डर संकलन भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए । 


प्रशासनले संकलन गरेका सिलिन्डरमध्ये ४४ वटा सिलिन्डर धौलागिरि अस्पतालमै प्रयोगमा रहेका हुन् भने बाँकी यहाँका निजी क्षेत्र तथा प्रतिष्ठानले व्यावसायिक प्रयोजनमा लगाएका सिलिन्डर हुन् ।

 

बिरामीले अक्सिजन नपाएको समाचार सार्वजनिक हुँदै गर्दा प्रशासनले सक्रियता देखाएको हो । ‘गृहको निर्देशनपछि हामीले प्रयोगविहीन सिलिन्डरको खोजी थालेका हौँ । यहाँका व्यवसायीले सिलिन्डर दिनुभएको छ,’ कार्कीले भने, ‘हामीले काम सकिएपछि फिर्ता गर्ने दोहोरो सम्झौता गरेर लिएका छौँ ।’ 

 

उक्त सिलिन्डरमध्ये जिल्लाको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार तत्काल अत्यावश्यक रहेका अस्पताल तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराइनेछ । सिलिन्डरमा अक्सिजन भर्नुपूर्व सफाइका लागि पोखरा पठाउने तयारी छ ।

 

‘रि–फिलिङ गरेर मात्रै अक्सिजन भर्ने काम हुन्छ । अभाव टार्न हामी तल्लीन छौँ,’ कार्कीले भने । बागलुङका केही निजी अस्पताल, यहाँ सञ्चालनमा रहेका ग्यारेज, केही ठूला मेसिन मर्मत केन्द्रबाट सिलिन्डर लिइएको हो ।

 

धौलागिरि अस्पतालको अक्सिजन प्लान्ट समयमा मर्मत नहुँदा अक्सिजन खेर गइरहेको र बिरामी बढ्दै जाँदा अक्सिजन अभाव हुने चिन्ता सरोकारवालाले व्यक्त गरेका थिए । ‘अहिलेको अवस्थामा उपलब्ध सिलिन्डरले पुग्ला भन्ने लागेको छ,’ कार्कीले भने, ‘थप आवश्यक पर्ने अवस्थामा तालुक निकायमा माग गरिरहेका छौँ ।’

 

धौलागिरि अस्पतालको २५ शय्याको आइसोलेसनमा कोभिड-१९ संक्रमितको अक्सिजन लगाएर उपचार भइरहेको छ । बागलुङ नगरपालिकाले ३५ र ताराखोला गाउँपालिकाले १५ शय्याको अक्सिजनसहितको आइसोलेसन तयार पारेकाले त्यहाँसमेत अक्सिजन आवश्यक पर्नेछ ।

 

काठेखोलामा १० शय्याको कोभिड अस्पताल

 

बागलुङको काठेखोला गाआउँपालिकाले अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । भीमसेन प्राथमिक विद्यालयको भवनमा आवश्यक पूर्वाधार निर्माण गरेर १० शय्याको अस्थायी अस्पताल सञ्चालनमा ल्याइएको हो ।


कोरोना महामारीको पहिलो लहरका बेला क्वारेन्टाइन हुँदै अस्थायी अस्पतालमा विकास गरिएको भीमसेन प्रावि बिहुँको भवनमा दोस्रो लहर सुरु भएपछि अस्पताल सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र लामाले बताए । अक्सिजन व्यवस्थापन गरेर अस्पताललाई थप व्यवस्थित बनाउने तयारीमा स्वास्थ्य शाखा लागेको छ ।


संक्रमणको दर बढ्दै गएको र धौलागिरि अस्पतालमा शय्या अभाव भएको खबर सार्वजनिक भइरहेका बेला गाउँपालिकाले अस्थायी अस्पताल बनाएको हो । ३ जना नर्स, १ जना जनस्वास्थ्य अधिकृत र १ जना कार्यालय सहयोगीलाई अस्पतालमा खटाइएको छ । 


‘हामीले करारमा मेडिकल अधिकृत माग गर्दासमेत कोही आएनन्,’ लामाले भने, ‘म आफैं र मौजुदा जनशक्ति खटाएर अस्पताल सञ्चालन गरेका छौँ ।’