close

कर्णालीका कोरोना संक्रमितको उद्दार हेलिकोप्टरबाट 

कर्णालीका कोरोना संक्रमितको उद्दार हेलिकोप्टरबाट 

Trulli
ADVERTISEMENT


जुम्ला– कर्णाली प्रदेश सरकारले दुर्गमका जटिल कोभिड संक्रमित विरामीलाई हेलिकोप्टरमार्फत उद्दार गर्ने भएको छ । २ जेठमा बसेको कर्णाली प्रदेशको मन्त्री परिषद् बैठकले दुर्गमका जटिल खालका कोभिड सङ्क्रमितहरूलाई हेलिकोप्टरबाट उद्दार गर्ने निर्णय गरेको हो । 


डोल्पा, हुम्ला र मुगुका जटिल प्रकृतिका सङ्क्रमितहरूलाई सदरमुकाम तथा त्यहाँ उपचार हुन नसकेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र कर्णाली प्रदेश अस्पताल सुर्खेतसम्म ल्याइने प्रदेश सरकारका प्रवक्ता कुर्मराज शाहीले बताए ।  

 

उद्धारका लागि प्रदेश सरकारले निजी सेवा प्रदायक कम्पनीका हेलिकोप्टर चार्टर गर्नेछ । उनले भने, ‘यसका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको  छ अब यसअघि हेलिकोप्टर चार्टर गर्दा दुर्गमका सङ्क्रमितहरूले १० लाख रूपियाँसम्म खर्च गर्नुपर्ने बाध्यता हटेको छ ।’
 


बैठकले सरकारले कोभिड नियन्त्रण, रोकथाम तथा प्रतिकार्यका लागि १३ करोड ८० लाख रूपियाँ सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश स्वास्थ्य निर्देशनालयलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

 

प्रवक्ता शाहीका  अनुसार यसरी उपलब्ध गराइने रकमबाट अक्सिजन सिलिण्डर खरिद तथा व्यवस्थापन गर्न ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि ५ करोड ४५ लाख, रेम्डेसिभिर लगायतका औषधि खरिदका लागि १ करोड र कोभिड सङ्क्रमितहरूको उद्धारका लागि १ करोड खर्च गरिने छ ।

 

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोभिडबाट मृत्यु भएकाहरूको शव व्यवस्थापन गर्न आवश्यक पर्ने सामग्रीहरू निःशुल्क उपलब्ध गराउने भएको छ । निषेधाज्ञाको समयमा कोभिड सङ्क्रमणबाट मृत्यु भएका आफन्तहरूले शव व्यवस्थापनका सामग्री सहज रूपमा पाउने कुरा चनौतिपूर्ण रहेकोले अस्पतालले नै प्रदान गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डाक्टर डम्मर खड्काले बताए ।

 

निर्देशक खड्काका अनुसार ४ जेठबाट मट्टितेल, कैंची, डोरी, कपडा र प्लाष्टिक लगायतका सामग्रीहरू मृतकका आफन्तलाई प्रदान गर्न सुरु गरिएको छ ।