close

कोरोना फैलिएपछि टोलटोलमै पुगेर परीक्षण गर्दै महानगर

कोरोना फैलिएपछि टोलटोलमै पुगेर परीक्षण गर्दै महानगर

Trulli
ADVERTISEMENT

काठमाडौं– काठमाडौं महानगरपालिकाले दिनहुँजसो कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेपछि बढी भीडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ । 


कोभिड संक्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न महानगर र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रूपमा एन्टिजेन परीक्षण थालेका हुन् । 


परीक्षणका क्रममा मंगलबार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको महानगरले जनाएको छ । बुधबार टुकुचा तरकारी बजारमा परीक्षण गरिनेछ ।


स्वास्थ्य मन्त्रालय र सिसिएमसीले पहिचान गरेका उच्च संक्रमणको सम्भावना रहेका स्थानमा परीक्षण सुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य छ । 


महानगरका स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भने, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएकालाई होम आइसोलेसनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’ 


उनका अनुसार महानगरको सहकार्यमा धेरै संक्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिनेछ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायत स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ । 


महानगरले कोरोनाका बिरामी बढेसँगै पिसिआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिबारसम्म स्वाब संकलनका लागि ५ वटा केन्द्र बनाएर काम गरिरहेको महानगरले हरेक दिन संक्रमितको संख्या बढ्दै गएकाले आइतबारदेखि १६ वटा स्थल तोकेरै परीक्षणलाई तीव्र बनाएको छ । 


महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको जनस्वास्थ्य महाशाखाले जनाएको छ । 


महानगरका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा छ । ‘कोरोनाको शंका देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ’, कुइँकेलले भनिन् । 


परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म ल्याउने–लैजाने व्यवस्थासम्म महानगरले गर्दै आएको छ । 


यसका लागि नागरिकले पैसा तिर्नुपर्दैन । कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग महानगरले २ साताअघि नै सम्झौता गरिसकेको छ । 


उक्त सेवा महानगरका २३ वडामध्ये ७ स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै नभई अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म आउजाउ गर्नुपरे पनि महानगरले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।


त्यसका लागि आवश्यक पर्ने जोकोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ । हाल महानगरमा ११ हजार ६३१ कोरोनाका सक्रिय संक्रमित छन् ।