close

बेनी अस्पतालमा सुरू भयाे एचडियु र अक्सिजनसहितको सेवा

बेनी अस्पतालमा सुरू भयाे एचडियु र अक्सिजनसहितको सेवा

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको बेनी अस्पतालले कोरोना संक्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेशन कक्ष शुरु गरेको छ । 


बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको पाँच/पाँच लाख रुपैयाँको सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो । बिरामी राख्नका लागि तीन कोठा र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ ।


दुई वटा एचडियु शय्या भएको आइसोलेसनका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट सिधै पाइपमार्फत अक्सिजन आपूर्ति हुने व्यवस्था मिलाइएको छ । केहि दिनभित्रै कोरोना संक्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवासमेत सुरु हुने अस्पताल  प्रशासनले जनाएको छ । त्यस्तै, अस्पतालमा दश वटा विद्युतीय शय्यासमेत  जडान गरिएको छ ।


कोरोना संक्रमितको मात्रै उपचार गर्न छुट्टै आइसोलशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुनेछ । यसअघि आकस्मिक र अन्तरङ्ग कक्षका साथै बरण्डामा शय्या राखेर कोरोना संक्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमै अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना संक्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ । 

 

चिकित्सक र स्वास्थ्यकर्मीहरुको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेसन बनाउन चिकित्सकहरुले सुझाव दिएका थिए । 


जिल्लामै संक्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई अहिले राहत मिलेको छ । सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करिब १०० शय्या क्षमताको आइसोलेसन सञ्चालन गरेर कोरोना संक्रमितको गाउँमै उपचार गर्न थालिसकेका छन् ।