close

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न पोखराका दुई अस्पताल तयार

सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च वेहाेर्ने

कोरोना संक्रमितको निःशुल्क उपचार गर्न पोखराका दुई अस्पताल तयार

सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च वेहाेर्ने

Trulli
ADVERTISEMENT

कास्की- पोखराको नयाँ बजारमा रहेको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालले कोरोना संक्रमितको निःशुल्क उपचार गर्न सरकारसँग सम्झौता गरेका छन् ।

 

यसअघि पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र सरुवा रोग तथा संक्रामक अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार हुँदै आएको थियो । सरकारले बुधबार देशका विभिन्न ठाउँका ३० वटा कोरोना भाइरस केयर युनिट सञ्चालनका लागि अस्पतालसँग सम्झौता गरेको हो । यी अस्पतालले  पहिले कोरोना संक्रमितको सशुल्क उपचार गर्दै आएका थिए ।


यसका लागि सरकारले संक्रमितको अवस्था हेरेर ३ हजार ५ सयदेखि १५ हजारसम्म उपचार खर्च अस्पताललाई प्रदान गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  गण्डकी मेडिकल कलेजले सरकारसँग कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार गर्ने सहमति गरेपछि अस्पतालमा आवश्यक तयारी थालिएको गण्डकी मेडिकल कलेजले जजनाएको छ । 


सरकारसँगको सम्झौतामा जटिल अवस्थाका बिरामीको उपचारमा एक दिनमा १५ हजारभन्दा बढी खर्च लागेको अवस्थामा त्यो थप रकम बिरामीले तिर्नुपर्ने गरि सम्झौता भएको छ ।  सरकारले सामान्य अवस्थाको कोरोना बिरामीका लागि ३ हजार ५ सय, मध्यम अवस्थाको बिरामीको ७ हजार ५ सय र जटिल प्रकारको बिरामीका लागि १५ हजार दैनिक रुपमा  बेहोर्ने गरी सम्झौता भएको हो ।

 

तर, जटिल प्रकारको विरामीका लागि अक्सिजनको मात्रा, रेमडेसिभिर लगायतका महङ्गो औषधीको प्रयोग गर्नुपरेको अवस्थामा १५ हजार सरकारले बेहोर्ने भएपनि त्यसभन्दा माथि लागेको खर्च बिरामी आफैंले तिर्नुपर्ने छ ।

 

मणिपाल शिक्षण अस्पतालले पनि सरकारसँगको सम्झौतापछि संक्रमितको निःशुल्क उपचार गर्ने तयारी थालेको छ । अस्पतालले कोरोना संक्रमितका लागि ७७ बेड छुट्टयाएको भएपनि हाल जम्मा ४५ जना बिरामीको मात्र उपचार गर्दै आएको थियो । सरकारसँगको सम्झौतापछि अस्पतालले सबै बेडमा संक्रमित राख्नेगरी तयारी आगाडि बढाएको जनाएको छ ।


सरकारले जिएमसी र मणिपालसँगै देशभरका अरु अस्पतालहरूसँग पनि कोरोनाको निःशुल्क उपचार गर्ने सहमति गरेको छ ।