close

वीरेन्द्रनगरका नगरप्रमुखको दिनचर्या: संक्रमितलाई घरमै पुर्‍याउँछन् औषधी 

वीरेन्द्रनगरका नगरप्रमुखको दिनचर्या: संक्रमितलाई घरमै पुर्‍याउँछन् औषधी 

Trulli
ADVERTISEMENT

सुर्खेत- सुर्खेतमा कोरोना संक्रमितको संख्या बढेसँगै नगरपालिकाले होम आइसोलेसनमा रहेका कोरोना संक्रमितको घरघरमै पुगेर औषधी वितरण सुरु गरेको छ ।

 

नगरप्रमुख देवकुमार सुवेदीले संक्रमितको घरघरमै पुगेर आवश्यक औषधी र अन्य स्वास्थ्य सामग्री वितरण गर्दै आएका छन् ।

 

नगरपालिकाले पारासिटामोल, जीवनजल, जिंक चक्की, एजिथ्रोमाइसिन, भिटामिन बी र सी, साबुन, कोलगेट, ब्रससहितको कोरोना किट तयार पारेको छ ।

 

‘संक्रमितको घरघरमै पुगेर बिरामीलाई आवश्यक औषधी र परामर्श दिने गरेका छौँ’, नगरप्रमुख सुवेदीले भने, ‘जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मीको टोली पनि सँगै हुन्छ ।’

 

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सबैभन्दा धेरै सक्रिय संक्रमित रहेको पालिका हो । शनिबारसम्म वीरेन्द्रनगरमा सक्रिय संक्रमितको संख्या १६१२ पुगेको छ ।


नगरप्रमुख सुवेदी संक्रमितलाई स्वास्थ्य सामग्रीसँगै स्वास्थ्य मापदण्ड पालना गरे–नगरेको अनुगमन पनि गरिँदै आएको बताउँछन् ।


कोरोना संक्रमित होम आइसोलेसनमा बस्ने नगरेको, संक्रमण लुकाएर घुम्ने गरेकोलगायत गुनासा आउने गरेकाले कोरोना किटसँगै अनुगमनलाई पनि तीव्रता दिइएको नगरप्रमुख सुवेदीको भनाइ छ ।

 

नगरपालिकाले संक्रमितको अक्सिजन नियमित चेकजाँच गर्छ । अक्सिजनको मात्रा कमी भएकालाई आफैँले सञ्चालन गरेको नगर अस्पतालमा पुर्‍याउँछ । ‘यसले गर्दा संक्रमितको मनोबल बढ्नुका साथै नगरबासीले नजिकको सरकारको अनुभूति गर्न पाएका छन्,’ उनले भने, ‘संक्रमित रहेका सबै वडामा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधिको टोली पुग्ने गरेको छ ।’

 

नगरप्रमुख, उपप्रमुख, वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्यकर्मीको टोली नियमित संक्रमितको घरघरमा पुग्ने गरेको नगर स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरीले बताए ।

 

उनले भने, ‘सोमबार, बुधबार र शुक्रबार निःशुल्क पिसिआर परीक्षणका साथै संक्रमण बढी देखिएका वडा नम्बर २, ३, ८ र १२ मा एन्टिजिन परीक्षणलाई तीव्रता दिइएको छ । नगरप्रमुख आफैं संक्रमितको घरघरमा पुग्दा उनीहरूको मनोबल बढेको छ । पल्स अक्सिमिटरद्वारा अक्सिजन नापिने भएकाले तत्कालै उपचार गर्न सहज भएको छ ।’

 

नगरपालिकाले २५ बेडको कोभिड अस्पताल सञ्चालन गरिरहेको छ । होम आइसोलेसनमा रहेकालाई केही समस्या परे तत्कालै अस्पताल पुर्‍याउन निःशुल्क एम्बुलेन्स सेवा नगरपालिकाले दिने गरेको छ ।


औषधी नपाएर होम आइसोलेसनमा छट्पटाएर बसेका कोरोना संक्रमितको घरघरमै पुगेर औषधी र परामर्श दिन थालेपछि स्थानीय सरकारको महत्त्व बल्ल बुझ्न पाइएको वीरेन्द्रनगर वडा नम्बर ६ का महेश खड्का बताउँछन् ।