close

१ वर्षको निर्यात १ खर्ब नाघ्यो : व्यापार घाटा भने वार्षिक बजेट हाराहारी

१ वर्षको निर्यात १ खर्ब नाघ्यो : व्यापार घाटा भने वार्षिक बजेट हाराहारी

Trulli
ADVERTISEMENT

काठमाडौं– आयातीत अर्थतन्त्रमा निर्भर नेपालले निर्यातमा नयाँ रेकर्ड कायम गरेको छ । नेपालले यो १ वर्षमा १ खर्ब बढीको सामान निर्यात गरेको हो । चालू आर्थिक वर्षको (साउनदेखि वैशाख) १० महिनासम्म निर्यात ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार रुपैयाँ पुगेको हो । 

 

निर्यात बढेसँगै नेपालको वैदेशिक व्यापार घाटा थोरै भए पनि साँघुरिन मद्दत पुगेको छ । यो वर्ष वस्तु निर्यातमा तेलजन्य वस्तु प्रमुख रहेको भन्सार विभागले सोमबार प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ । 

 

भटमासको तेल, कफी चिया र कार्पेटको निर्यातमा वृद्धि भएको छ । आइरन र स्टिल निर्यात पनि बढेको भन्सार विभागको तथ्यांकले देखाएको छ । 
 

नेपालको वैदेशिक व्यापार डेनमार्क, इथियोपिया, होन्डुरस, आइल्यान्डसहित २७ देशसँग नाफामा छ । मुलुकमा आयात बढ्दै गएपछि त्यसको अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकले बर्सेनि व्यापार घाटा बेहोर्दै आएको छ । देशको व्यापार घाटा झन्डै वार्षिक बजेट बराबर नै पुगिसकेको छ ।

 

चौथो योजनाको लक्ष्यअनुसार १५औँ योजनाको अन्तिमसम्म मुलुकको निर्यात बढाएर १ खर्ब ८४ अर्ब रुपैयाँ पु¥याउने प्रक्षेपण गरिएको
थियो । सो अवधिमा आयातलाई १५ खर्ब ६७ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको थियो । 

 

तर, १५औँ योजनाको सुरुतिरै मुलुकले १ खर्ब बढी निर्यातको व्यापार गर्न सकेको छ । सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्ने नीतिसमेत लिएको छ ।
 

सरकारले आयात दर बढ्दै जादा मुलुकको व्यापार घाटा चुलिँदै गएपछि बेलाबेलामा विलासिताका वस्तुको परिमाणात्मक बन्देजसमेत लगाउँदै आएको छ । सरकारले २०६४ देखि १ खर्ब रुपैयाँ निर्यात पु¥याउने लक्ष्य लिएको थियो । तर, उक्त लक्ष्यअनुसार निर्यात गर्न सकेको थिएन । 

 

व्यापार घाटा झन्डै साढे ११ खर्ब 
 

मुलुकको वैदेशिक व्यापार घाटा अहिले झन्डै साढे ११ खर्ब रुपैयाँ पुगेको छ । चालू आर्थिक वर्षको (२०७७÷७८) १० महिनामा २१.४८ प्रतिशतले व्यापार घाटा बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड ४ लाख २३ हजार रुपैयाँ पुगेको हो ।

 

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो व्यापार घाटा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख १३ हजार रुपैयाँ थियो । नेपालले १२ खर्ब ५४ अर्ब रुपैयाँको मालवस्तु आयात गरेको छ, जुन २२.२४ प्रतिशतले बढेको हो । गत वर्ष १० खर्ब २५ अर्बको आयात भएको थियो । हालको आयात नेपालले खर्चिने वार्षिक बजेट बराबर हुने गरेको छ ।