close

अक्सिजन प्लान्ट सञ्चालन गर्दै भक्तपुर नगरपालिका (भिडियो खबर)

अक्सिजन प्लान्ट सञ्चालन गर्दै भक्तपुर नगरपालिका (भिडियो खबर)

ADVERTISEMENT

भक्तपुर- कोरोना भाइरसको दोस्रो लहरले नेपाललाई धेरै ठूलो पाठ सिकायो । अस्पतालमा शय्या निर्माण गरेर मात्रै हुँदैन । अस्पतालका लागि आवश्यक स्वास्थ्य सामग्रीको मौज्दात हुन पनि आवश्यक रहेछ । त्यति मात्र नभई अक्सिजन प्लान्ट अपरिहार्य नै रहेछ भन्ने कुरा सिकाएको छ । किनकि पछिल्लो समय अक्सिजन अभावमा नै सयौँले ज्यान गुमाए ।

 

अहिले अन्तर्राष्ट्रिय सहयोग बढेसँगै अक्सिजनकै कारण ज्यान गुमाउनेको संख्यामा कमी आउँदै गएको छ । तर, अब अभावले सिकाएको पाठले होला स्थानीय सरकार अक्सिजन प्लान्ट निर्माणमा भने जुटिरहेका छन् । स्वास्थ्य जटिलता जुनसुकै बेला पनि हुन सक्ने भन्दै भक्तपुरको भक्तपुर नगरपालिका अक्सिजन प्लान्ट निर्माणमा जुटेको हो ।

 

भक्तपुर नगरपालिकाले आफ्नै लगानीमा अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । पछिल्लो समय अक्सिजनको अभाव भएकोले कोरोना संक्रमितको मृत्यु हुनेको दर तीव्र रूपमा बढेसँगै पालिकाले अक्सिजन उत्पादन गर्न लागेको हो । पालिकाको अनुसार प्लान्टका लागि आवश्यक तयारी भइसकेको छ । त्यसको लागि आवश्यक छलफल सुरु भएसँगै प्लान्ट कम्पनीसँग सम्झौता समेत गरिएको छ ।

 

अबको केही दिनमा प्लान्टको लागि आवश्यक सामग्री खरिद गरिने छ । सामग्री खरिदका लागि प्रदेश सरकारले केही समस्या खडा गरिएको थियो । समस्यालाई समाधान गरी पालिकाले खरिद प्रक्रियाको ढोका समेत खोलिसकेकाले अबको २० दिनमा आवश्यक सामग्री खरिद गरी प्लान्ट जडान गर्ने र अक्सिजन उत्पादन हुने विश्वास पालिकाको छ । 

 

नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य कार्यालयसँगै ख्वप अस्पताल निर्माणाधिन छ । सोही निमार्णाधिन नगरअस्पतालमा अक्सिजन प्लान्ट जडान गरिने छ । प्लान्ट मार्फत प्रत्येक दिन एक सय २० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ । उत्पादित अक्सिजन नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य, आइसोलसन केन्द्र र निर्माणाधिन ख्वप अस्पतालमा प्रयोग गरिने छ । 

 

कोरोना संक्रमितको उपचारको लागि हाल नगरपालिकाले २५ शय्या एचडियु सहित ५० शय्या क्षमताको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । सोही आइसोलेसन केन्द्रमार्फत सामान्य तथा जटिल प्रकृतिका संक्रमितको उपचार हुँदै आएको छ ।

 

हालसम्म एक सय २८ जना संक्रमितले सेवा लिएको आइसोलेसनबाट ८४ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन् । तर, कसैलाई पनि अक्सिजनको अभाव भन्दै फर्काउने गरेकाे छैन नगरपालिकाले ।

 

जनस्वास्थ्य कार्यालयका इन्चार्जका अनुसार पालिका  आफैले विरामीको लागि आवश्यक पर्ने अक्सिजन खरिद गर्दै आएको छ । नगरपालिकाद्वारा सञ्चालित आइसोलेसनमा विरामीको लागि आवश्यक सम्पूर्ण सेवा पालिका आफैँले व्यवस्था गरेको छ ।

 

होम आइसोलेसनमा बस्ने अवस्था नभएका बिरामीलाई निःशुल्क एम्बुलेन्स सेवामार्फत आइसोलसनमा ल्याउने गरेको छ । त्यसका लागि सम्बन्धित व्यक्तिले आइसोलेसन केन्द्रमा सम्पर्क गरी सम्बन्धित वडाध्यक्षसँग समन्वय गरेर आइसोलेसनमा ल्याउने गरिएको छ । 

 

भक्तपुर नगरपालिकामा पछिल्लो समय संक्रमितको संख्या बढदै गएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि पालिकाले जनचेतनासँगै स्वास्थ्य सेवालाई प्राथमिकता राखी स्थानीयलाई सेवा दिँदै आएको छ । 

 

अहिलेको प्रमुख आवश्यकता भनेको देशलाई संक्रमणबाट मुक्त पार्नु नै हो । त्यसका लागि स्थानीय सरकारले आफ्नो खर्च कटाएर भएपनि महामारी नियन्त्रणमा खेलिरहेको भूमिका साँच्चै प्रंशसनीय छ । नागरिकलाई अहिले सडक, बाटो, पुल होइन ज्यान जोगाउने उपाय चाहिएको छ । यस्तो समयमा अक्सिजन प्लान्ट निर्माण गरेर पालिकाले नागरिकप्रति आफ्नो कर्तव्य देखाएका छन् ।