close

अर्थमन्त्रीको जिल्लालाई लाभैलाभ, लुम्बिनीका १२ जिल्लालाई पनि फलिफाप

बृहत्तर लुम्बिनीको विकास, पर्यटन र पूर्वाधार विकास प्राथमिकतामा

अर्थमन्त्रीको जिल्लालाई लाभैलाभ, लुम्बिनीका १२ जिल्लालाई पनि फलिफाप

बृहत्तर लुम्बिनीको विकास, पर्यटन र पूर्वाधार विकास प्राथमिकतामा

Trulli
ADVERTISEMENT

रूपन्देही- संघीय सरकारका अर्थमन्त्री एवं रूपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९ को बजेट जिल्लाका लागि लाभदायी हुने देखियो । लुम्बिनीमा बृहत्तर लुम्बिनीको विकास, पर्यटन, पूर्वाधार विकासलाई बजेटमा प्राथमिकतामा दिइएको छ । 

 

आव २०७८/७९ को बजेटमा अर्थमन्त्री पौडेलले ल्याएको बजेटमा गृहजिल्ला रूपन्देही प्राथमिकतामा परेको छ । लुम्बिनीका १२ जिल्लामध्ये बढी योजना रूपन्देहीका छन् ।

 

रूपन्देहीपछि मुख्यमन्त्री शंकर पोखरेलको जिल्ला दाङ परेको छ । पहाडी जिल्लाका पाल्पा, गुल्मी र अर्घाखाँचीलाई बजेटले सम्बोधन गरेको छ । तर, प्यूठान, रुकुम र रोल्पा भने उपेक्षामा परेका छन् । तराईका नवलपरासी, कपिलवस्तु र बर्दियाका योजना कम समेटिएका छन्। 


लामो समयदेखि पूरा हुन नसकेको लुम्बिनीको गुरुयोजना २ वर्ष सक्ने गरी बजेट छुट्याइएको छ । रामग्राम-तिलौराकोटसहितको बुद्ध सर्किटलाई समेत समेटेर गुरुयोजना बनाउन १ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याइएको छ ।

 

यस्तै, तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रक्रिया अघि बढाइने बजेटमा उल्लेख छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको छ । कोरोना महामारीका कारण विमानस्थल निर्माण प्रभावित बनेको छ । 


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गरिनेछ । दाङको विमानस्थल सञ्चालनमा ल्याइने बजेटमा भनिएको छ । यसैगरी गुल्मीको सिमीचौरमा नियमित उडान गरिने र अर्घाखाँचीमा पनि विमानस्थल बनाइने अर्थमन्त्री पौडेलले ल्याएको बजेटमा उल्लेख छ । 


रूपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको पूर्वाधार २ वर्षभित्र सम्पन्न गर्ने गरी बजेट छुट्याइएको छ । दाङको लक्ष्मीपुरमा औद्योगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने अर्थमन्त्रीले बजेटमा उल्लेख गरेका छन् ।

 

बाँकेको नौवस्ता औद्योगिक क्षेत्रमा २ वर्षभित्र पूर्वाधार बनाउने, बर्दियाको राजापुरमा विशेष आर्थिक क्षेत्र बनाउन विस्तृत अध्ययन गरिने गरी बजेट विनियोजन भएको छ ।


गुल्मीको रुरु क्षेत्रको विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री पौडेलले भनेका छन् । करिब साढे २ दशकदेखि पूरा हुन नसकेको झुम्साखोला खानेपानी आयोजनालाई निरन्तरता दिइएको छ । पाल्पाको बर्तुङ लिफ्ट खानेपानीका लागि आवश्यक बजेट छुट्याइएको छ ।

 

बुटवल मेडिकल कलेजको योजनालाई निरन्तरता दिइएको छ । गत वर्ष नै गुरुयोजना बनाएर निर्माण सुरु गर्ने भनिए पनि अझै यसको गुरुयोजना बनेको छैन ।


अर्थमन्त्री पौडेलले गुरुयोजना तयार पारी निर्माण प्रारम्भ गर्ने बजेटमा भनेका छन् । कालीगण्डकी डाइभर्सन, बाँके र बर्दियामा बबई भेरी भेरी डाइभर्सनबाट खानेपानी व्यवस्था गर्ने योजना बनाइएको छ ।


बाँकेमा रहेको सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न सरकारले १ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए ।


रूपन्देहीको भैरहवा, दाङको लमही र बाँकेको नेपालगञ्जमा क्रिकेट मैदान निर्माणका लागि बजेट छुट्याइएको छ । रूपन्देहीको बेलहिया नाकामा २ हजार मालवाहक सवारीसाधन अट्ने पार्किङ याड निर्माण गरिनेछ ।


भैरहवा र नेपालगञ्जमा एकीकृत जाँचचौकी निर्माण गरिने भएको छ । बुटवल-भैरहवा-लुम्बिनीसहित कोहलपुर-नेपालगञ्जमा प्रदेश र स्थानीय तहको साझेदारीमा विद्युतीय बस सञ्चालनका लागि अनुदान दिइने भएको छ । 

 

भैरहवा र नेपालगञ्जसहित ठूला भन्सार नाकामा कन्टेनर स्क्यानर मेसिनसहित आधुनिक उपकरण जडान गरिने भएको छ । बुटवल-भैरहवा मेगासिटीका रूपमा अघि बढाइने अर्थमन्त्रीले बजेटमा उल्लेख गरेका छन् ।

 

केही दिनअघि मात्रै ग्लोबल टेन्डर भएको सिद्धबाबा क्षेत्रको सुरुङमार्ग निर्माणका लागि बजेट छुट्याइएको छ । यसैगरी सिद्धार्थ राजमार्गलाई डेडिकेटेट राजमार्गका रूपमा विस्तार गरिने भएको छ ।
नारायणगढ-बुटवल सडक खण्डलाई तीव्रता दिने र बुटवल-कोहलपुर सडक खण्डको विस्तृत डिजाइन गरी निर्माण गरिने उल्लेख छ ।

 

यस्तै, दुम्कीबास-बर्दघाट, पाल्पा-तम्घास सडकको प्रभास जोर्तेमा सुरुङ मार्गको सम्भाव्यता अध्ययनका लागि बजेट छुट्याइएको छ । बुटवल-लमही-कोहलपुर विद्युत् प्रसारण निर्माण गर्न बजेट छुट्याइएको छ ।


लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा पनि पूर्वाधार निर्माणका लागि वित्तीय हस्तान्तरण गरिने भएको छ । बुटवलको सरकारी अस्पतालमा निःसन्तान दम्पतीका लागि आइभिएफ सेवा विस्तार गरिने भएको छ ।


बुटवल धागो कारखानालाई निजी साझेदारीमा सञ्चालनको प्रस्ताव आह्वान गरिने बजेटमा उल्लेख छ । बुटवल, नेपालगञ्जसहितका सहरमा विद्युत्, टेलिफोन, खानेपानी, अप्टिकल फाइबरलगायतको तार भूमिगत गर्ने बजेटमा भनिएको छ।


नेपालगञ्जमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने, पाल्पामा मौसम मापन गर्न राडर स्थापना, प्रदेशमा भूमि बैंक स्थापना गरेर १ वर्षभित्र सञ्चालनमा ल्याउने, अंग्रेज फौजलाई हराएको बुटवलको जितगढीलाई संरक्षण गरी विस्तृत अध्ययन गर्ने, पाल्पामा लिफ्ट खानेपानी, लुम्बिनीमा सांस्कृतिक स्मार्ट सिटी बनाउने योजना बजेटमा समेटिएको छ ।


रूपन्देहीको कर्साघाटमा आधुनिक प्रविधियुक्त कृषि उपज थोक बजार केन्द्र निर्माणको नयाँ योजना अघि सारिएको छ । अर्घाखाँचीमा कृषि भण्डारण स्थापना गरिने भएको अर्थमन्त्री पौडेलले बताए । रूपन्देहीका पहिलेका योजनालाई प्राथमिकता दिइएको छ भने नयाँ योजना पनि समावेश गरिएको छ ।