close

स्थानीय सरकारलाई विपत्तिमा नागरिककाे साथ

स्थानीय सरकारलाई विपत्तिमा नागरिककाे साथ

Trulli
ADVERTISEMENT

भक्तपुर- नयाँ भेरियन्टसहितको कोरोना भाइरस रोकथामका लागि भक्तपुरका स्थानीय सरकारले सहयोग जुटाउँदै आएका छन् ।


कोरोना रोकथामका लागि आवश्यक तयारी गर्दै आएका यहाँका स्थानीय सरकारले संक्रमित व्यक्तिको उपचारका लागि सहयोगसमेत जुटाउँदै लगेका हुन् । 


कोरोना संक्रमितमध्ये जटिल प्रकृतिका बिरामीका लागि अक्सिजनसहितको उपचार आवश्यक छ । तर, मुलुकभर अक्सिजन अभाव भएसँगै प्लान्ट उत्पादनमा जुटेको यहाँको सरकारले स्थानीय र सरोकारवाला निकायसँग सहयोग जुटाउँदै आएका छन् । 


मध्यपुर थिमि नगरपालिका


केही साताअघि मात्रै अक्सिजन प्लान्ट जडान गरी उत्पादन सुरु भइरहेको छ । प्रतिमिनेट २ लिटर अक्सिजन उत्पादन हुने प्लान्टबाट दैनिक ३० सिलिन्डर उत्पादन क्षमता छ । 


पालिकाद्वारा सञ्चालित नेपाल-कोरिया मैत्री नगरपालिका अस्पतालबाट अक्सिजन उत्पादन हुँदै आएको छ । संक्रमित संख्या घटेसँगै अस्पतालका बेडसमेत खाली हुँदै आएका छन् । तर, अस्पतालका लागि सहयोग जुट्दै आएको छ । 

 

नगरपालिका अस्पतालका लागि अमेरिकाबाट पूर्वराजदूत स्टक डेलिसिको पहलमा १० लिटरको हाइपर्फमेन्स अक्सिजन कन्सन्ट्रेटर ६३ थान सहयोग सहयोग प्राप्त भएको छ । 


डा. दिवेश कर्माचार्यको समन्वयमा करिब ७५ लाख रुपैयाँको सहयोग गरेको पालिकाले अब अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपर्ने नगरप्रमुख मदनसुन्दर श्रेष्ठको विश्वास छ । 

 

भक्तपुर नगरपालिका


ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान गरी अक्सिजन उत्पादन गर्ने लक्ष्य लिएको भक्तपुर नगरपालिकालाई स्थानीयको सहयोग जुटिरहेको छ ।


प्रदेश सरकार तथा केन्द्रीय सरकारलाई सहयोगका लागि अनुरोध गरेको थियो । तर, सहयोग नआएपछि पालिकाले स्थानीय र संघ-संस्थासमक्ष अपील गरेको थियो । 


फलस्वरूप स्थानीय संघ-संस्था र जनताले सहयोग गर्दै आएका छन् । नगरपालिकाका अनुसार अक्सिजन प्लान्ट जडान गर्न सोमबारसम्म ३ करोड २० लाख ८२ हजार रुपैयाँ उठिसकेको छ । 

 

सोमबार अक्सिजन प्लान्टलगायत स्वास्थ्य उपकरणको व्यवस्था गर्न ७३ लाख ७० हजार २ सय ५४ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले बताइन् ।

 

बढी रकम उठेपछि अक्सिजन बाँकी रुपैयाँ भेन्टिलेटर, आइसियु तथा अरू स्वास्थ्य उपकरण खरिद गर्ने भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले बताए ।


सहयोगका लागि आएको रकम सबै स्वास्थ्योपचार खरिदमा खर्च गर्ने योजना रहेको उनले जानकारी दिए । साथै, उनले अक्सिजन प्लान्टका लागि चाहिने ट्रान्सफर्मर आइसकेको बताए ।


‘जडान गर्ने काम भइरहेको छ । बाँकी उपकरण आजभोलिसम्म आइपुग्छ,’ उनले भने ।

 

चाँगुनारायण नगरपालिका


करिब १ करोड ५७ लाख रुपैयाँ बराबरको लगानीमा नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान गर्न लागेको पालिकाले चाँगुनारायण फाउन्डेसनसँग सम्झौता गरेको छ ।


कुल लगानीमध्ये फाउन्डेसनले ६० प्रतिशत र नगरपालिकाले ४० प्रतिशत रकम बेहोर्ने समझदारी भएको छ ।

 

नगरपालिकाद्वारा सञ्चालित नगर अस्पताललाई कोभिड डेडिकेटिभ अस्पतालको रूपमा सञ्चालन गर्दै आइरेको छ । अक्सिजन अभाव नहुन थप १० थान अक्सिजनसहितको सिलिन्डर सहयोग प्राप्त भएको छ । 

 

यस्तै, नगरपालिकाको वडा नम्बर ४ मा सञ्चालित महिला सहकारी छिन्नमस्ता महिला बचत तथा ऋण सहकारी संस्थाले चाँगुनारायण अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्योपकरणसहितको सहयोग उपलब्ध गराएको छ । संस्थाका सञ्चालक अध्यक्ष देवका श्रेष्ठले चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्रलाई उक्त सामग्री हस्तान्तरण गरे ।