close

आम्दामा भेन्टिलेटरसहितको कोभिड आइसियु सेवा

आम्दामा भेन्टिलेटरसहितको कोभिड आइसियु सेवा

Trulli
ADVERTISEMENT

रूपन्देही- बुटवल उद्योग वाणिज्य संघको सहयोगमा बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दामा भेन्टिलेटरसहितको कोभिड आइसियु सेवा सुरु भएको छ । 

 

बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको सहयोगमा २ भेन्टिलेटरसहित ५ आइसियु तथा १० एचडियु र १० जनरल (कोभिड आइसोलेसन) समेत गरी २५ बेडको कोभिड वार्डबाट औपचारिक सेवा सुरु गरिएको हो । बुटवल उद्योग वाणिज्य संघ कोभिड–१९ आइसियु वार्डको लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले सुरु गरे ।

 

आम्दाले सरकारबाट कोभिड केयर युनिट सञ्चालनको स्वीकृति लिएसँगै बुटवल उद्योग वाणिज्य संघ र अस्पतालबीच आइसियु सञ्चालनका लागि दुईपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार संघले २ वटा आइसोलेसनसहित आइसियुका ५ बेड सहयोग गरेको हो ।


 
भेन्टिलेटरसहितको आइसियु सेवा सुरु गर्दै मन्त्री श्रेष्ठले आम्दा अस्पतालको स्रोत व्यवस्थित गरी आगामी दिनमा थप व्यवस्थित गरिने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाइ छ । त्यसका लागि निजी, सार्वजनिक, सहकारी र सरकारी नीति लिन आवश्यक रहेको उनको धारणा छ ।

 

सरकारले कोरोना संक्रमितको उपचारलाई निःशुल्क गरेको र स्वास्थ्यकर्मीलाई समेत जोखिम भत्ताको व्यवस्था गरेकाले दायित्वबोध गरेर बिरामीको उपचारमा सक्रिय हुन स्वास्थ्यकर्मीलाई उनले आग्रह गरे ।


कोभिड केयर युनिट सञ्चालनका लागि आम्दाले सरकारसँग ३ करोड रुपैयाँ माग गरेअनुसार संघीय सरकारलाई अनुरोध गरिएको जानकारी गराउँदै केन्द्रले नगरे प्रदेश सरकारले त्यसको व्यवस्थापन गर्ने मन्त्री श्रेष्ठले जानकारी दिए । आम्दा अस्पताललाई आमा सुरक्षा कार्यक्रम लागू गर्नसमेत मन्त्रीले ध्यानाकर्षण गराए ।

 
आम्दा अस्पताल सञ्चालक समिति अध्यक्षसमेत रहेका बुटवल उपमहानगर प्रमुख शिवराज सुवेदीले आमाबच्चाको उपचारका लागि स्थापना गरिएको अस्पतालमा आमा सुरक्षा कार्यक्रम लागू गर्न नसकिएको र १५ बेडभन्दा माथिको अस्पताललाई प्रदेश सरकारले हेर्ने भएकाले प्रदेशको समेत दायित्व हुने गरी नयाँ तरिकाले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याए ।


बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कोरोना महामारीका कारण उपचार अभावमा कसैले ज्यान गुमाउन नपरोस् भनेर संघले भेन्टिलेटरसहित आइसियु सेवा सञ्चालनका लागि वातावरण बनाएको बताए । संघको पहलमा उद्योगी, व्यवसायी, वस्तुगत समितिबाट समेत सहयोग प्राप्त भएको उनको भनाइ छ ।


सिद्धार्थ महिला तथा बाल अस्पताल आम्दाका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्रप्रसाद बस्यालले कोभिड केयर युनिट सञ्चालनका लागि संघबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।