close

बाजुराका ३ वटा पालिकाले पाए अक्सिजन सिलिन्डर

बाजुराका ३ वटा पालिकाले पाए अक्सिजन सिलिन्डर

Trulli
ADVERTISEMENT

बाजुरा- बाजुराको निर्वाचन क्षेत्र नं ‘क’ मा सञ्चालन भएको कोभिड-१९ विरुद्धको सहयोग अभियानले अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।


कोरोना रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन भएको अभियानले उत्तरपूर्वी क्षेत्रका ३ वटा स्थानीय पालिकालाई १७ वटा अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको हो ।

 

अभियानद्वारा संकलित सिलिन्डर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकालाई हस्तान्तरण गरिएको अभियानका संयोजक जनम धामीले जानकारी दिए ।

 

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीलाई १२ वटा, स्वामीकार्तिक खापर गाउँपालिकालाई ३ वटा र हिमाली गाउँपालिकालाई २ वटा गरी १७ वटा सिलिन्डर हस्तान्तरण गरिएको उनले बताए ।

 

कोल्टीमा अक्सिजन अभावका कारण कोभिड-१९ का बिरामी जिल्ला रिफर हुनुपरेको गुनासो बढिरहेका बेला रेडियो बूढीनन्दा, नागरिक समाज, उद्योग वाणिज्य संघ कोल्टी र सामाजिक अभियन्ताको संयुक्त पहलमा सहयोग अभियान सञ्चालन भएको थियो ।

 

अक्सिजन अभावमा कुनै पनि नागरिकको ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले गत ९ जेठबाट अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामग्री खरिदका लागि कोभिड-१९ विरुद्धको अभियान सञ्चालन भएको अभियानका सहसंयोजक अनिल शाहीले बताए । 


विभिन्न सहयोगी दाताबाट संकलित करिब २ लाख ६० हजार रुपैयाँ बढीको रकमबाट अक्सिजन सिलिन्डर खरिद गरी स्थानिय तहलाई हस्तान्तरण गरिएको सह-संयोजक शाहीले जानकारी दिए ।


निर्वाचन क्षेत्र नं ‘क’ भौगोलिक रूपमा दुर्गम तथा विकट भएकाले यस क्षेत्रको सेवा प्रवाह गर्ने एक मात्र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन अभावमा धेरै बिरामीलाई जिल्ला सदरमुकाम मार्तडी, नेपालगञ्ज, डढेल्धुरा, अछामलगायत सुविधासम्पन्न ठाउँमा रिफर गर्नुपर्ने बाध्यता छ ।

 

प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अक्सिजन सिलिन्डर व्यवस्थापन भएपछि छिमेकी हुम्ला, मुगु, कालीकोट र बाजुराका बिरामीलाई उपचारमा सहज हुने प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका जनस्वास्थ्य निरीक्षक ओमजंग शाहीले बताए ।