close

कोरोनाका कारण बारीमै ओइलायो फूल खेतीको पसिना 

कोरोनाका कारण बारीमै ओइलायो फूल खेतीको पसिना 

Trulli
ADVERTISEMENT

भक्तपुर– बारीभरि रंगीबिरंगी फूल । कुनै राता, कुनै पहेँला, कुनै सेता अनि ६ थरीका गुलाब । देख्नेबित्तिकै सबैको नजर पर्छ, यी फूल बगैँचातिर । 

 

फूलको मुस्कानमा मुस्कुराउँछन्, ताथलीका रामेश्वर बासी । ६ वर्षदेखि यो खेतीमा हात हालेका उनले करिब ६ रोपनी जग्गामा फूल खेती गर्दै आएका छन् । 

 

६ रोपनीमध्ये ४ रोपनीमा प्लास्टिकको टनेल बनाएका छन् । ती टनेलमा आकर्षक रंगीबिरंगी फूल फूलेका छन् । तर, व्यापार भने शून्य छ किनभने कोरोना महामारीका नियन्त्रण गर्न निषेधाज्ञा जारी छ ।

 

नयाँ भेरियन्टसहित फैलिएको कोरोना भाइरसका कारण उनको फूलले बजार पाउन सकेको छैन । ‘फूल फुल्छन् अनि बारीमै ओइलिन्छन् । अरू समय विवाह र सभा–सम्मेलनमा सजिने फूल निषेधाज्ञाले बारीमा सजिएरै कुहिन्छन्,’ उनी भन्छन्, ‘पहिले ग्राहक फूलबारीमा आउँथे । आवश्यक फूल लग्थे । अहिले न कोही ग्राहक आउँछन्, न त फूलका लागि फोन नै ।’

 

चाँगुनारायण नगरपालिकास्थित ताथलीको डाँडापाटीमा उनले एभरेस्ट फ्लोरिकल्चर एन्ड भेजिटेबल फार्म सञ्चालन गर्दै आएका छन् । फूल नसरीबाट केही युवाले रोजगारीसमेत पाएका छन् । 

 

आधुनिक प्लास्टिक टनेलभित्र मनमोहक तरिकाले एकै नासे ६ थरीका जर्बेरा, कार्नेस, लिमोनियम, गुलाब, स्टाटिक्सलगायत सजावटका लागि प्रयोग गरिने फूलका बिरुवा रोपेका छन् । बहुवर्षीय फक्रिने फूलका बिरुवा बिरुवाले करिब ६ वर्ष उत्पादन दिने बासी बताउँछन् । हाल फार्ममा १० हजार बिरुवा रोपिएका छन् ।

 

उपत्यकाका मुख्य बजारसहित विभिन्न स्थानमा बेच्दै आए पनि निषेधाज्ञाका कारण बिक्री हुन नसकेको उनको गुनासो छ । प्रतिथुंगा २५ रुपैयाँ पर्दछ तर व्यापार नभएपछि फूललाई मलको खाडलमा पुरेका छन् । 

 

‘यो वर्ष मात्रै ३० हजार फूलका थुंगालाई मेरै आँखा अगाडि पुरेको छ । हामीसँग अरू विकल्प पनि छैन । सरकारले कृषिका अत्यावश्यक सामग्री बिक्री गर्न दिए पनि पुष्प व्यवसायीलाई वास्ता गरेन’, बासी दुःखी सुनिए ।

 

रोजगारका लागि १५ वर्ष विदेश बसेपछिको पीडा बिर्सेर केही गर्ने सोचका साथ २०७२ देखि डाँडापाटीमा फूल खेती गरिरहेका ४४ वर्षीय बासीले हालसम्म ७० लाख रुपैयाँ लगानी गरिसकेका छन् । उनले सुरुमा १ लाख रुपैयाँबाट फूल खेतीमा हात हालेका थिए ।

 

फूल बिक्री हुने सिजन सामान्य वैशाख महिना हुने गरे पनि निषेधाज्ञाका कारण व्यवसायी ठप्प भएको उनले जानकारी दिए । गत वर्ष पनि ४ महिना फूल फाल्नु परेको र अहिले पनि साढे ७ लाख रुपैयाँ बराबरको नष्ट भइसकेको उनले सुनाए । 

 

‘अब हामी ६ महिनासम्म घाटामा जानुपर्छ । फूल बिक्री भए पनि प्रतिफल मुस्किललै उठाउनुपर्छ,’ उनले भने । सरकारले विदेशबाट वर्षौं लाखौँ मूल्यका फूल आयात गर्दा स्वदेशी फूल बिक्री गर्न समस्या हुने बासीको गुनासो छ ।