close

जुम्लाका पालिकाको प्राथमिकतामा कृषि, स्वास्थ्य र राेजगारी

जुम्लाका पालिकाको प्राथमिकतामा कृषि, स्वास्थ्य र राेजगारी

Trulli
ADVERTISEMENT

जुम्ला– जुम्लाका ८ मध्ये ६ स्थानीय तहले मात्रै आर्थिक वर्ष २०७८÷७९ को मनीति तथा कार्यक्र प्रस्तुत गरेका छन् भने २ स्थानीय तहले अहिलेसम्म ल्याएका छैनन् । अधिकांश स्थानीय तहले विगतजस्तो नीति कार्यक्रमसँगै बजेट भने ल्याएनन् । 

 

चन्दननाथ नगरपालिका, तातोपानी, तिला, सिंजा, पातारासी , हिमा, कनकासुन्दरी र गुठीचौर गाउँपालिकाले मात्रै नीति तथा कार्यक्रम सार्वजनिक गरे । तीमध्ये गुठीचौर, पातारासी, हिमा, कनकासुन्दरी र सिंजा गाउँपालिकाले डल्लो बजेट मात्रै ल्याएका हुन् ।

 

गुठीचौर गाउँपालिकाले ३२ करोड ९ लाख ४२ हजार रुपैयाँ र सिंजा गाउँपालिकाले ३३ करोड रुपैयाँ बजेट सार्वजनिक गरेका छन् । पातारासी गाउँपालिकाले ४१ करोड १२ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । 


यस्तै, कनकासुन्दरी गाउँपालिकाको ४३ करोड र हिमा गाउँपालिकाको ३७ करोड १८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएका छन् । बजेट बाँडफाँटको काम भने अझै भइसकेको छैन । यहाँका ८ वटै स्थानीय तहको प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य शिक्षा, पर्यटन तथा रोजगारीलाई प्राथमिकता दिइएको छ ।

 

हिमा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि २०७८/८९ का लागि नीति तथा कार्यक्रमसहित डल्लो बजेट मात्रै ल्याएको छ । १३ असारमा नवौँ गाउँसभामा नीति तथा कार्यक्रमसहित ३७ करोड १८ लाख २८ हजार रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको हो ।


पालिकाको नवौँ गाउँसभाले कृषि शिक्षा, रोजगार, लक्षित वर्गको उत्थान, हिलोमुक्त वडा निर्माण तथा ज्येष्ठ नागरिकको सुरक्षालगायत कार्यक्रमलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम ल्याएको उपाध्यक्ष हिमाली रोकायाले बताइन् ।

 

उनले भनिन्, ‘बजेट बाँडफाँट गर्न अझै बाँकी छ । अहिले अनुमानित डल्लो बजेट मात्रै प्रस्तुत गरेका हौँ ।’ गाउँपालिका अध्यक्ष रजबहादुर शाहीका अनुसार शिक्षा, कृषि, सामाजिक सुरक्षा तथा रोजगारका विषयलाई प्राथमिकता दिइएको छ । 

 

पालिकाभित्रका स्वयंसेवक शिक्षकलाई विद्यार्थीको चापअनुसार दरबन्दी मिलान गर्ने, आवासीय विद्यालय सञ्चालनलाई निरन्तरता दिने, शिक्षा सिकाइमा जोड दिने, लक्षित वर्गको उत्थान गर्ने, रोजगारी सिर्जना गर्ने, महिला, बालबालिका ज्येष्ठ नागरिकको राहत कोष खडा गर्नेलगायत विषय नीति तथा कार्यक्रममा उल्लेख छ ।


व्यावसायिक कृषि गर्नेलाई अनुदान, कोभिडले रोजगारी गुमाएकालाई रोजगारी, दुर्गम बस्तीमा सडक निर्माण गर्ने नीति तथा कार्यक्रममा जोड दिइएको छ । कनकासुन्दरी गाउँपालिकाले सातौँ गाउँसभामार्फत ४३ करोड रुपैयाँको बजेट ल्याएको छ । कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।


५० भन्दा माथि व्यावसायिक रूपमा भेडाबाख्रापालन गरी फर्म दर्ता भई प्यान नम्बर लिएका कृषक उद्यमीको मनोबल उच्च राख्न प्रोत्साहनस्वरूप अनुदान दिने गाउँसभामा सभा अध्यक्ष नरवीर रावतले बताए ।


तातोपानी गाउँपालिकाले नवौँ गाउँसभामा पालिकाभरका नागरिकको स्वास्थ्य बिमामा २ हजार रुपैयाँ सहयोग गर्ने, कृषिमा अनुदान दिने, शिक्षक, स्वास्थ्यकर्मीलाई सम्मान गर्ने, कोरोना महामारी रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउने, कोरोनाले रोजगारी गुमाएका युवालाई रोजगारी दिने विषय प्राथमिकतामा राखिएको छ । 

 

नीति तथा कार्यक्रम सार्वजनिक भए पनि आगामी आर्थिक वर्षको बजेट भने २२ असारमा आउने जनाएको छ । त्यतिबेलासम्म कार्यपालिका सदस्यलाई नीति तथा कार्यक्रम अध्ययन गरी सुझाव दिन भनिएको छ ।


त्यस्तै, चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।

 

नीति तथा कार्यक्रम पारित भएको र बजेट यही साताभित्र ल्याउने निर्णय भएको सेजुवालले जानकारी दिइन् । तर, उपप्रमुख अप्सरादेवी न्यौपानेले भने नीति तथा कार्यक्रम र बजेट केही पनि प्रस्तुत नभएको दाबी गरिन् ।

 

सिंजा गाउँपालिकाले पनि कृषि, पर्यटन तथा रोजगारीलाई प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेट ल्याएको अध्यक्ष देवलसिंह रावलले बताए । उनका अनुसार सिंजाले आगामी आव २०७८÷७९ का लागि करिब ३३ करोड रुपैयाँ बढीको बजेट विनियोजन गरेको छ ।

 

पातारासी गाउँपालिकाले पनि पर्यटन, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । ४१ करोड १२ लाख ६६ हजार रुपैयाँको बजेट आगामी आर्थिक वर्षका लागि विनियोजन गरिएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले बताए ।

 

तिला गाउँपालिकाले पनि कृषि, पर्यटन र स्वास्थ्यलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको अध्यक्ष रतननाथ योगीले जानकारी दिए ।