close

सोलु करिडोर विवाद: टावर अन्यत्रै सार्नुपर्ने स्थानीयको माग यथावत 

सोलु करिडोर विवाद: टावर अन्यत्रै सार्नुपर्ने स्थानीयको माग यथावत 

Trulli
ADVERTISEMENT

कटारी (उदयपुर)- उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ का स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर गाउँबाट अन्यत्र सार्नुपर्ने मागबाट पछि नहट्ने बताएका छन् । सोमबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन आएका स्थानीयले प्रहरी लगाएर टावर गाड्ने प्रयास नगर्न चेतावनी दिँदै आवश्यक परे नगरपालिकामै धर्ना बस्ने चेतावनी दिए ।


नगरपालिका उपप्रमुख भीमकुमारी राउतलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय अगुवा डाकबहादुर थापाले पटक-पटक प्रधानमन्त्री, ऊर्जामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउन गएको स्मरण गराउँदै उनीहरूले दिएको आश्वासन पूरा नभएकाले नगरपालिका झक्झाउन आउनुपरेको बताए । सोलु करिडोरको प्रसारण लाइनको टावर गाउँबाट राख्न दिए अन्य आयोजनाले पनि गाउँबाट टावर राख्न सक्ने भएकाले अन्यत्र सार्नुपर्ने मागलाई यथावत राखेको थापाको भनाइ छ ।


उपप्रमुख राउतले राष्ट्रिय गौरवको आयोजनालाई नगरले सहयोग गर्ने भए पनि जनताको चित्त बुझाएर काम गर्नुपर्ने बताइन् । ‘यो समस्या हाम्रो पनि हो,’ राउतले भनिन्, ‘जबर्जस्ती गरे प्रतिकार गर्न तयार छौँ । जनताको सहमतिबिनाको काम सह्य हुँदैन ।’ तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आयोजना प्रभावितलाई बजारमा घडेरी आउने गरी मुआब्जा दिने बताए पनि कार्यान्वयन हुनेमा उनले आशंका व्यक्त गरिन् ।

 

गत १२ चैतमा जारी अवरोधको समस्या समाधान गर्न आइपुगेका तत्कालीन ऊर्जामन्त्री रायमाझी स्थानीयको विरोधपछि बिनानिष्कर्ष मरुवाबाट फर्किएका थिए । मन्त्री रायमाझीले सबैलाई सन्तुष्ट बनाउँदै सोही रुटबाट टावर गाडिने र थप विरोध भए सुरक्षाकर्मी लगाइने अन्यत्रको उदाहरण दिएपछि स्थानीय आक्रोशित भएका थिए । 

 

कटारी नगरपालिका वडा नम्बर ४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण २ वर्षयता रोकिएको छ । उक्त क्षेत्रमा स्थानीयले क्षति पुर्याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान कायमै राखेका छन् । 

 

लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पटक-पटक छलफल हुँदै आएको छ । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।

 

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २० माघ २०७६ देखि व्यावसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ । सिराहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङ्लासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ । यसमध्ये ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । 

 

कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टांग्ने कामसमेत सकिएको छ ।  उक्त प्रसारण लाइन निर्माण भएपछि सोलु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।


विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद-बिक्री सम्झौता (पिपिए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो ।  मरुवाका स्थानीयले गाउँमा पर्ने ९ वटा टावर राख्न दिएका छैनन् ।