close

कोरोना संक्रमित थपिँदै गएपछि सिदिङ्वाको बजेट अधिवेशन स्थगित

कोरोना संक्रमित थपिँदै गएपछि सिदिङ्वाको बजेट अधिवेशन स्थगित

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- मंगलबार मात्रै साब्लाखुका १४ जनामा कोरोना संक्रमण देखिएपछि बुधबार (३० असार) का लागि तय गरिएको सिदिङ्वा गाउँपालिकाको बजेट अधिवेशन तथा नियमित गाउँसभा अचानक स्थगित भएको छ ।


प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले कोरोना संक्रमणको भयावह अवस्था सिर्जना हुँदै गएकाले बुधबारका लागि तय गरिएको गाउँसभा अनिश्चितकालका लागि स्थगित गरिएको जानकारी दिए ।


‘एकपछि अर्को स्थानमा कोरोना संक्रमित थपिँदै गएकाले बुधबार गाउँसभा गर्न सकिने अवस्था रहेन’, प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले भने ।

 

उनले अवस्था सामान्य भएपछि गाउँसभाको अर्को मिति तय गरिने जानकारी दिए । उनका अनुसार मंगलबार मात्रै सिदिङ्वा गाउँपालिकाको केन्द्र वडा नम्बर ४ साब्लाखुमा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।


सोमबार वडा नम्बर ६ मेहेलेमा १६ जनामा संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ । गाउँसभा तथा बजेट अधिवेशनमा पालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी पाएका पालिका अध्यक्ष नरबहादुर कडरियालाई कोरोना संक्रमण भएपछि सिदिङ्वाले १० असारभित्रै बजेट ल्याउन पाएको थिएन ।

 

अध्यक्ष कडरिया कोरोेना संक्रमणमुक्त भएपछि उनले ३० असारका लागि बजेट अधिवेशन बोलाएका थिए । तर, पालिकाका विभिन्न स्थानमा संक्रमणको दर बढ्न थालेपछि ३० असारका लागि बोलाइएको बजेट अधिवेशन पनि तत्कालका लागि स्थगित गरिएको प्रमुख प्रशासकीय अधिकृत लिङ्देनले बताए ।

 

ताप्लेजुङका ९ मध्ये सिदिङ्वाबाहेक सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १० असारभित्रै बजेट, नीति तथा कार्यक्रम ल्याइसकेका छन् । आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलासहित कर्मचारीसमेतमा कोरोना संक्रमण देखा परेपछि अहिले पालिकाको प्रशासनिक कार्य ठप्प छ ।