close

पूर्ण पोषणमैत्री भयाे बलिथुम स्वास्थ्यचौकी (भिडियो खबर)

पूर्ण पोषणमैत्री भयाे बलिथुम स्वास्थ्यचौकी (भिडियो खबर)

ADVERTISEMENT

गुल्मी- गुल्मीमै पहिलो पटक बलिथुम स्वास्थ्य चौकी पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषणा भएको छ । जिल्लाको गुल्मी दरबार गाउँपालिका वडा नम्वर १ मा रहेको बलिथुम स्वास्थ्य चौकीले पोषण सम्बन्धी विभिन्न १६ वटा सूचकहरु पूरा गरेकाले पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण गरिएको हो ।

 

वडा भित्र कोही पनि बालबच्चाहरु कुपोषण नरहेको, नियमित रुपमा खोप र बच्चाको तौल लिने गरेको, गर्भवतीले नियमित रुपमा आइरन चक्की खाने गरेको र आमा तथा शिशुलाई पोषण सम्बन्धी परामर्श दिने गरेको हुनाले पूर्ण पोषणमैत्री स्वास्थ्य संस्था घोषण गरिएको हो ।

 

गुल्मी दरवार गाउँपालिका-१ को बलिथुम स्वास्थ्य चौकी जिल्लाकै पहिलो पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था बनेको छ । पालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई विशेष प्राथमिकता दिएको छ । गाउँपालिकाको योजना अनुसार स्वास्थ्यकर्मीले मिहिनेत गरेकाले गुल्मी दरबार स्वास्थ्य क्षेत्रमा अब्बल बन्दै गएको गाउँपालिकाको दावी छ ।

 

गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा मातृ शिशु, नव शिशु, पोषण, सरसफाई, परिवार योजना सहित गर्भवतीको स्वास्थ्यलाई ख्याल राख्दै ‘कस्तो छ आमा ?’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । महिला बालबालिका र ज्येष्ठ नागरिकको निःशुल्क उपचार तथा औषधि वितरण, बर्थिङ सेन्टर सञ्चालन, अपाङ्ग परिचय पत्र वितरण र ‘विद्यार्थी केन्द्रित साथी शिक्षा’ कार्यक्रम गाउँगाउँमा सञ्चालन गरिरहेको छ ।

 

गाउँपालिकाका अरु स्वास्थ्य चौकीमा पनि पोषणको काम भइरहेकाले केही समयमा पूर्ण पोषण मैत्री गाउँपालिका घोषणा गरिने गाउँपालिकाले जनाएको छ । पूर्ण पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्नको लागि १६ सूचक पूरा गर्नुपर्छ ।

 

पूर्ण पोषण मैत्री स्वास्थ्य संस्थाको घोषणाको लागि पोषण कर्नर, पोषणका सन्देश मूुलक पोष्टर, एकीकृत बालरोग व्यवस्थापन सेवा लिन आउने बालबालिकाको पोषण सम्बन्धी सूचना, पोषण रजिष्टरमा गरिएको अभिलेखको विष्लेषण गरेर अंक प्रदान गरिएको छ ।

 

पोषणसँग सम्बन्धित औषधि र सामग्री, बालबालिकाको नियमित तौल अनुगमन, बालबालिकाको पूर्ण स्तनपानको अवस्था, कुपोषणको अवस्था, पोषण परामर्श, भिटामिन ‘ए’ र जुकाको औषधि खाने बालबालिका, पोषण अभिलेख र प्रतिवेदनलाई पनि पूर्ण पोषणमैत्री स्वास्थ्य संस्थाका आधार मानिएको छ ।

 

गाउँपालिकाले मासिक प्रगति मुल्यांकन, भौतिक व्यावस्थापन, सरसफाई, सामाजिक परीक्षण र नविनतम कार्य तथा वडा स्तरीय योजनाको बजेटका आधारमा स्वास्थ्य चौकीलाई पुरस्कृत गरेको थियो । गाउँपालिकाको मुल्याङ्कनमा जभुङ स्वास्थ्य चौकी दोस्रो, दरबार देवीस्थान स्वास्थ्य चौकी तेस्रो र वीरवास स्वास्थ्य चौकीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।

 

जिल्लामै पहिलो पोषण मैत्री तथा गुल्मी दरबारको उत्कृष्ट स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर थापाले आफूले प्राप्त गरेका दुई उपलब्धीलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका छन् ।गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा संचालन गरेका रचनात्मक कामको चौतर्फी प्रशंसा भएको छ ।

 

ति कार्यक्रम क्षणिक भने पक्कै नबन्लान् भन्ने अपेक्षा गरिएको छ । स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन गरिने सम्मान र स्वास्थ्य संस्थाको मुल्यांकनले कार्यक्रम र अभियानको गुणस्तरियता बढ्ने अपेक्षा गाउँपालिकाको छ । त्यसैले घोषणा मात्रै भेट्याउने दौड र कार्यक्रमको निरन्तरतामा गाउँपालिका र स्वय स्वास्थ्यसंस्था चनाखो बन्नुपर्छ ।