close

मुगुमा निर्वाहमुखी खेती बन्दै सिमी  

मुगुमा निर्वाहमुखी खेती बन्दै सिमी  

Trulli
ADVERTISEMENT

मुगु- कर्णाली प्रदेशका १० जिल्लामध्ये मुगुमा अन्नबालीका साथै रैथाने बालीसमेत उत्पादन हुने गरेको छ । यहाँ दर्जनौँ स्थानीय रैथाने बालीको उत्पादन हुन्छ । सोही कारण मुगुलाई अर्गानिक जिल्ला भनेर पनि चिनिन्छ । 


मुगुमा उत्पादन हुने कोदो, फापर, जौ, उवा, भटमास, सिमीलगायत खेती प्रमुख बाली रहँदै आएको छ । पछिल्लो समय मुगुलगायत कर्णालीमा सिमी खेती किसानको संख्या वृद्धि भएको छ भने आकर्षण पनि उत्तिकै बोकेको छ । मुगुमा पछिल्लो समय सिमी खेतिगर्ने किसानको संख्या उकालो लागेको छ । 


गत आर्थिक वर्ष २०७६/७७ देखि सदरमुकाम गमगढी बजारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिमीजोन कार्यक्रम सञ्चालन भएपछि मुगुमा पछिल्लो समय हजारौँ किसान व्यावसायिक र निर्वाहमुखी सिमी खेतीमा लागेको कार्यालयले बताएको छ । 


उन्नत जातका सिमी उत्पादन गरी यहाँका किसानलाई आत्मनिर्भर गराउने उद्देश्यले कार्यक्रम थालनी गरेको सिमीजोन मुगुका वरिष्ठ कृषि अधिकृत थीरलाल गैरेले बताए ।


जिल्लामा अहिले १ हजार हेक्टरमा सिमी खेती भइरहेको उनले जानकारी दिए । ‘२०७६/७७ देखि नै यो कार्यक्रम लागू भएपछि जोनले ओगटेको ७ सय हेक्टर मात्र हो । अन्य बाँकी कृषि विकास कार्यालय र स्थानीय तहले काम गर्दै आएका छन्’, अधिकृत गैरेले भने । 


यो कार्यक्रम जिल्लाका ४ मध्ये २ वटा स्थानीय तहमा मात्र लागू भएको छ । छायानाथ रारा नगरपालिकाअन्तर्गत वडा नम्बर ४, ७, ८, ९, १०, ११, १२ र मुगुमकार्मारोङ गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७, ८ र ९ गरी १३ वटा वडामा यो कार्यक्रम लागू गरिएको छ ।


सिमी जोनअन्तर्गत १३ वटा वडामा वार्षिक ६ सय मेट्रिक टन सिमी उत्पादन हुने गरेको छ ।  कार्यालयले सिँचाइ कुलो, यान्त्रिकीकरण, उन्नत बिउ–मल प्रयोग, भण्डारण र प्रशोधनजस्ता आधुनिकीकरणका माध्यमबाट डेढ हेक्टरसम्ममा सिमी उत्पादन गर्ने लक्ष्य राखेको छ । 


मुगुका किसानले सिमी खेतीबाटै वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सिमी जोन कार्यालय स्थापना भएपछि सिमी खेती गर्ने किसान बढेका हुन् । मुगुबाट वार्षिक २० देखि २५ मेट्रिक टन सिमी बाहिरी जिल्ला निर्यात हुने गरेको कार्यालयले जानकारी दिएको छ ।